आइतबार २१ मंसिर, २०८२

विज्ञापन बोर्डको निर्देशन उल्लंघन, एनपीएलमा फेरि ‘डाफान्यूज’को विज्ञापन

विज्ञापन बोर्डको निर्देशन उल्लंघन, एनपीएलमा फेरि ‘डाफान्यूज’को विज्ञापन

काठमाडौं । विज्ञापन बोर्डको स्पष्ट निर्देशन विपरीत नेपाल प्रिमियर लिग (एनपीएल)मा पुनः ‘डाफान्यूज’को विज्ञापन देखिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ठूलो बोर्डमार्फत यो विज्ञापन प्रदर्शन गरिएको हो।

गत १ भदौमा विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान)लाई डाफा न्यूजलगायत अनलाइन बेटिङसँग सम्बन्धित विज्ञापन नगर्न औपचारिक रूपमा निर्देशन दिएको थियो। त्यसअघि पहिलो संस्करणको एनपीएलमा स्टार स्पोर्ट्समार्फत प्रसारण हुँदा वानएक्सबेट, वुल्फ ७७७, डाफान्यूजजस्ता अनलाइन जुवा साइटका विज्ञापन खेलाडीका जर्सीदेखि मैदानका ब्यानरसम्म व्यापक रूपमा देखा परेका थिए।

यसबारे उजुरी परेपछि विज्ञापन बोर्डले क्यानसँग २६ साउन २०८२ मा स्पष्टीकरण मागेको थियो। क्यानले जवाफ पठाए पनि बोर्डले चित्त नबुझेपछि १ भदौमा प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले क्यानलाई सचेतनामूलक पत्र पठाएकी थिइन्।

यसबीच, जुवा साइटका विज्ञापन गराउने ब्रान्ड डिजिटल लजिक प्रालि (ललितपुर) र टीसीएस स्पोर्ट्स एण्ड मार्केटिङ प्रालि (टंगाल) लाई जनही १०/१० हजार रुपैयाँ जरिवाना र तीन महिनाका लागि विज्ञापन गतिविधिमा रोक लगाइएको थियो।

तर लगाइएको प्रतिबन्धपछि पनि एनपीएलमा फेरि ‘डाफान्यूज’को विज्ञापन देखा परेपछि विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले कडा प्रतिक्रिया दिएका छन्।

‘यदि बेटिङ साइटको विज्ञापन भएको प्रमाणित भयो भने क्यानलाई तुरुन्तै पत्र काटेर कारबाही प्रक्रिया अघि बढाउँछौं,’ अध्यक्ष हुमागाईंले चेतावनी दिए।