एनपीएल : आज विश्राम, भोलि दुई खेल
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम दिन राखिएको थियो ।
भोलि सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
हालसम्मको अंक तालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज भने दुई अंक जोड्दै तेस्रो स्थानमा छ । दुइटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।
१ मंसिरदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् । २७ मंसिरमा फाइनल हुनेछ ।
