आइतबार २१ मंसिर, २०८२

नबिल बैंक र एनआइबी–जिए बीच साना र मझौला उद्यम विकासमा रणनीतिक साझेदारी

नबिल बैंक र एनआइबी–जिए बीच साना र मझौला उद्यम विकासमा रणनीतिक साझेदारी

काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) ले साना तथा मझौला उद्यम (एसएमई)लाई अनुदान र प्राविधिक सहायता प्रदान गर्न रणनीतिक साझेदारी गरेका छन्।

साझेदारी पत्रमा नबिल बैंकका सिइओ मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ।

फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिएमार्फत ४० वटा उद्यमलाई ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ। यस अनुदानले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यातमुखी उद्यममा विकास गर्न सहयोग गर्ने जनाइएको छ।

नबिल बैंकका सिइओ ज्ञवालीले भने, “यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही तयार पारिएको हो। बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउन सक्नेछ।”

एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा पारदर्शी अनुदान व्यवस्थापनको लागि नबिल बैंकप्रति आभार व्यक्त गर्दै यस्तो ढाँचा अन्य परियोजनामा पनि लागू गर्न सकिने बताए।

परियोजना पाँच वर्षे हो र बेलायतको यूके इन्टरनेशनल डेभलप्मेन्टबाट वित्तीय सहयोग प्राप्त छ।