आइतबार २१ मंसिर, २०८२

‘सी बेबी’ ड्रोन प्रयोग गरेर युक्रेनले रुसी तेल ट्यांकरमाथि गर्‍यो हमला

‘सी बेबी’ ड्रोन प्रयोग गरेर युक्रेनले रुसी तेल ट्यांकरमाथि गर्‍यो हमला

 काठमाडौं । युक्रेनले रूसी तेल ट्यांकरहरूमाथि नयाँ प्रविधिको प्रयोग गरेर हमला गरेको छ । युक्रेनका अधिकारीहरूले बताए अनुसार युक्रेनी नौसैनिक ड्रोनले ब्ल्याक सी हुँदै गइरहेका रूसको ‘छायाँ फ्लीट’सँग सम्बन्धित दुई तेल ट्याङ्करहरूलाई निशाना बनाएका छन् ।

एक भिडियोमा पानीमा चल्ने ड्रोनहरू छालहरूलाई चिर्दै जहाजहरूतर्फ अगाडि बढिरहेका र त्यसपछि ठोक्किएर ठूलो विस्फोटका साथ आगलागी भएको देखिन्छ ।

टर्कीका अधिकारीहरूका निशाना बनाइएको ट्यांकरहरूको नाम काइरोस र विराट हुन् । दुवैमा गाम्बियाको झण्डा लगाइएको छ । दुवै ट्यांकरहरूमाथि शुक्रबार टर्कीको तट नजिकै हमला गरिएको थियो ।

रिपोर्ट अनुसार, विराटलाई शनिबार फेरि पनि निशाना बनाइएको थियो । यद्यपि, यस हमलामा कुनै हताहत भएको जानकारी छैन ।

ट्यांकर चालक दलले संकटकालीन कल गरेर ड्रोन हमलाको सूचना दिएका थिए । उनीहरूले मानवरहित समुद्री ड्रोनबाट हमला भएको बताएका हुन् ।

चालक दलले ड्रोन हमला भएको भन्दै मद्दत मागिरहेको देखिने एक भिडियो पनि सार्वजनिक गरिएको छ ।

दुई पटकको हमलापछि पनि जहाजमा सामान्य मात्र क्षति भएको र जहाजको अवस्था स्थिर रहनुका साथै चालक दलका सदस्यहरू पनि सकुशल रहेको टर्कीको यातायात मन्त्रालयले जानकारी दिएको छ ।

किभमाथि शान्ति सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहेको बेला यो घटना भएको हो ।

युक्रेनको एसबीयू सुरक्षा सेवाका एक स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार, आधुनिकीकरण गरिएको ‘सी बेबी’ नौसैनिक ड्रोनहरूले जहाजहरूलाई सफलतापूर्वक निशाना बनाएका हुन् ।

यो हमलाले युक्रेन अब रूसको तेल अर्थतन्त्रमाथि प्रहार गर्ने प्रयास गरिरहेको देखिन्छ । यही आम्दानी युक्रेनमा चलिरहेको युद्धलाई निरन्तरता दिनका लागि महत्त्वपूर्ण मानिन्छ ।

समाचारहरूका अनुसार, यी दुवै जहाजहरू रूसको ‘छायाँ फ्लीट’को हिस्सा हुन् । रूसले पश्चिमी प्रतिबन्धहरूलाई छल्नका लागि प्रयोग गरिने सयौं ट्यांकरहरूलाई सम्बोधन गर्न यो शब्द प्रयोग गरिन्छ ।

युक्रेनमाथि हमला शुरु गरेपछि रूसमाथि यी प्रतिबन्धहरू सन् २०२२ मा लगाइएको थियो ।

‘छायाँ फ्लीट’मा धेरैजसो पुराना ट्यांकरहरू छन्। यीमध्ये धेरैजसो जहाजहरूको स्वामित्वसम्बन्धी जानकारी वा तिनीहरूको बीमा स्पष्ट हुँदैन।

–     एजेन्सीहरूको सहयोगमा