शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
काठमाडौं । शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।
बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डुले प्लेअफमा स्थान पक्का गरेको छ । साथै काठमान्ठुले शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनाएको छ ।
लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । लिगको बाँकी खेलको नतिजापछि काठमान्डु शीर्ष दुईमा रहने/नरहने पक्का हुनेछ ।
उता ६ खेलमा चौथो हार व्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेको छ ।
काठमान्डु गोर्खाजे दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पूरै २० ओभर खेल्दै १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।
काठमान्डुका शाहब आलमले २०औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । शाहबले ४ ओभरमा २५ रन खर्चेर एक्लै ६ विकेट लिए । यस सिजन उनी ६ विकेट लिने पहिलो खेलाडी समेत बने ।
पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरेपनि पर्याप्त भएन । उनले ३१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ५४ रन बनाए । यस्तै धनन्जय लक्षनले ३० रन जोडे ।
५५ रनमा ४ विकेट गुमाएको पोखराका लागि धवन र धनन्जय लक्षन मिलेर पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए । तर यो साझेदारी ब्रेक भएपछि पोखराको रन गति पनि घटेको थियो ।
लक्षनले २७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा ३० रन जोडे । कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन जोडे ।
बलिङमा काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए । कप्तान करण केसी र सन्नी पटेलले दुई/दुई विकेट लिए ।
त्यसअघि ओपनर बेन चार्ल्सवर्थ र भिम शार्कीको अर्धशतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
