आइतबार २१ मंसिर, २०८२

महिलामाथि हुने डिजिटल हिंसा : हाम्रो व्यवहार—कसैको पीडा; बुझौँ, रोकौँ, सशक्त बनौँ

महिलामाथि हुने डिजिटल हिंसा : हाम्रो व्यवहार—कसैको पीडा; बुझौँ, रोकौँ, सशक्त बनौँ

हिंसा कुनै पनि समाजको दाग हो- तर, यसको सबैभन्दा गहिरो चोट प्रायः घरभित्रै, सम्बन्धभित्रै, अनि अहिले त डिजिटल संसारभित्र पनि लुकेको हुन्छ। कसैको फोटो अनुमति बिना सेभ गर्नु, अनावश्यक मेसेज पठाउनु, सामाजिक सञ्जालमार्फत हेप्नु, अपमानजनक टिप्पणी लेख्नु—यी सबै व्यवहारलाई धेरैले “सामान्य” भन्छन्। तर, सावधान—यिनै व्यवहार डिजिटल लैङ्गिक हिंसाका रूप हुन्।

हाम्रो समाजले महिलालाई ‘सहनैपर्छ’ भन्ने संस्कारमा बाँधेर राखेको छ, जसले हिंसालाई निरन्तरता दिन मद्दत गरिरहेको छ। अब आवश्यक छ— महिलामा मात्र होइन, हरेक मानिसमा दृढ आवाज उठोस् : “म हिंसा गर्दिन, भएमा सहन्न पनि छैन।”

लैङ्गिक हिंसा शारीरिक मात्र होइन—मानसिक, सामाजिक, आर्थिक र डिजिटल प्रहार पनि हो, धम्की, अपमान, नियन्त्रण, आर्थिक निर्भरता, कार्यस्थलमा शोषण, अनलाइन दुव्र्यवहार, यौनिक जबरजस्ती—यी सबै हिंसाका गम्भीर रूप हुन्।

नेपाल जस्तो विविध समाजमा हिंसाका स्वरूप अझै धेरै छन्— बालविवाह, दाइजो, बोक्सी आरोप, छाउपडी, जातीय भेदभाव…कानून हुँदा पनि सोच परिवर्तन नहुँदासम्म हिंसा रोकिन्न।

घरभित्र लुकेको हिंसा : अदृश्य चोट, गहिरो पीडा

हिंसाको विडम्बना—पीडक आफन्त, पीडित पनि आफन्त। अध्ययनले भन्छ—महिला र बालिकामाथिको ९१% हिंसा आफन्तबाटै हुन्छ। लाज, डर र समाजको इज्जतले घटनाहरू लुकेर जान्छन्। तर, लुकाएर बस्दा हिंसा रोकिन्न—बरु अझै बढ्छ, विस्तारिन्छ, गहिरिन्छ।

हेप्ने, गाली गर्ने, अनावश्यक नियन्त्रण गर्ने, मोबाइल चेक गर्ने, चरित्रमा शंका गर्ने—यिनै साना व्यवहार एक दिन ठूलो अपराधमा रूपान्तरित हुन्छन्। कामकाज स्थलमा पनि अपमान, शक्ति दुरुपयोग, गलत स्पर्श, तलब रोकिने, पद घटाइनेजस्ता हिंसा व्यापक छन्।

हिंसा रोक्नु—सबैको साझा जिम्मेवारी

हिंसाको वातावरणमा हुर्केका बालबालिकामा डर, तनाव र गहिरो मनोवैज्ञानिक घाउ बस्छ। त्यसैले हिंसाबाट मुक्त समाज बनाउनु केवल महिलाको लडाइँ होइन— सबैको दायित्व हो।

हामीले गर्नुपर्ने कामहरू :

हिंसा के हो— अनलाइन, अफलाइन, दुवै क्षेत्रमा—स्पष्ट बुझाइ दिने।

सम्मान र समानताको संस्कार घरदेखि विद्यालयसम्म विकास गर्ने।

‘सहनैपर्छ’ होइन—‘बोल्नुपर्छ’ भन्ने चेतना जगाउने।

सुरक्षित र गोप्य रिपोर्टिङ प्रणालीहरू प्रभावकारी बनाउने।

प्रहरी, स्थानीय तह, महिला आयोगमा सहज पहुँच सुनिश्चित गर्ने।

महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने।

पुरुषहरूलाई पनि व्यवहार परिवर्तनको यात्रामा जोड्ने।

कानूनी सहारा—आवाज उठाउने अधिकार

हिंसा भयो भने—

१०० वा ११४५ मा तुरुन्त फोन गर्न सकिन्छ।

स्थानीय तह, वडाको न्यायिक समिति, महिला आयोगमा उजुरी दिन सकिन्छ।

सुरक्षित आवास, कानूनी सहयोग, मनोपरामर्श—सबै सेवा उपलब्ध छन्।

हाम्रो समाजमा ठूलो भ्रम यस्तो छ— “आफन्त हो, सहनैपर्छ” तर सत्य यस्तो हो— न्याय कहिल्यै आफन्त–पराय हुँदैन। सहनु बुद्धिमानी होइन; आवाज उठाउनु नै आत्मसम्मानको रक्षा हो।

सशक्त महिलाबाटै हिंसामुक्त समाज, महिलाले आत्मविश्वासका साथ भन्न सक्नुपर्छ— “म सम्मानका साथ बाँच्ने अधिकार राख्छु।”

हिंसा रोक्ने पहिलो कदम— समान व्यवहार, जिम्मेवारीको न्यायोचित बाँडफाँड, स्वस्थ संवाद, आर्थिक स्वतन्त्रता, डिजिटल सचेतना र सम्मानको संस्कार निर्माण।

साना कदमहरूले ठूलो परिवर्तन ल्याउँछन् :

विद्यालयमा लैङ्गिक हिंसा विरुद्धको पाठ

सडक नाटक, घरदैलो कार्यक्रम

प्रत्येक कार्यालयमा focal person

स्थानीय तहमा आत्मरक्षा तालिम

उजुरी पेटिका, हटलाइन

गीत, कविता, कथा, मिडियालाई लैङ्गिक उत्तरदायी बनाउने पहल

निष्कर्ष : समानता, सम्मान र सचेत डिजिटल व्यवहार

समाज बदल्न पुस्तौँ कुर्नु पर्दैन—आजको परिवर्तनले भोलिको पुस्ता सुरक्षित बनाउँछ। हिंसा गर्नु र सहनु—दुबै गलत अभ्यास हुन्। हाम्रा शब्द, हाम्रा टिप्पणी, हाम्रा डिजिटल व्यवहार—यी नै समाज बनाउने वा बिगार्ने आधार हुन्।

आजबाटै सुरु गरौँ, 

अनलाइन र अफलाइन दुवै ठाउँमा सुरक्षित व्यवहार
पद, शक्ति वा लिङ्गका आधारमा होइन, मानिसपनका आधारमा सम्मान
हिंसा देखे आवाज उठाउने साहस

समृद्ध नेपाल र सुखी नेपालीको सपना त्यही दिन पुरा हुन्छ, जब हरेक महिला स्वतन्त्र, सुरक्षित र सम्मानित हुन्छिन्।