मंगलबार ०१ पुस, २०८२

एलन मस्क बने ६०० अर्ब डलर सम्पत्ति कमाउने पहिलो व्यक्ति

एलन मस्क बने ६०० अर्ब डलर सम्पत्ति कमाउने पहिलो व्यक्ति

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले नयाँ इतिहास रचेका छन् । उनी नेटवर्थ ६०० अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) नाघ्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । 

पछिल्लो २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ । मस्कको नेटवर्थमा आएको यो तीव्र वृद्धि उनको रकेट निर्माण गर्ने कम्पनी स्पेसएक्सको बढ्दो मूल्यका कारण भएको हो । यही कारणले उनको नेटवर्थ विश्वका अन्य सबै अर्बपतिहरूभन्दा धेरै अघि निस्किएको छ । 

ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मस्कको नेटवर्थ झण्डै ६३८ अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) पुगेको छ । यति ठूलो नेटवर्थसँगै उनी विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा ३७३ अर्ब डलरभन्दा पनि धेरै अघि छन् । 

मस्कको यस प्रगतिले धनी व्यक्तिहरूको सूचीको शीर्ष स्थानमा रहेको अन्तर झनै बढाएको छ । यस सूचीमा अधिकांश व्यक्ति प्रविधि क्षेत्रमा संलग्न छन्— जस्तै ठूला सफ्टवेयर कम्पनीका मालिक, विलासी सामान उत्पादन गर्ने ठूला समूहका मालिक तथा लामो समयदेखि लगानी गर्दै आएका व्यक्तिहरू ।

एलन मस्कको मुख्य आम्दानी उनका कम्पनीहरू टेस्ला, स्पेसएक्स, एक्स, एक्सएआई आदिबाट आउँछ । उनको कुल सम्पत्तिको ठूलो हिस्सा टेस्ला र स्पेसएक्सबाट प्राप्त हुन्छ । उनी टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको ४२ प्रतिशत सेयरका मालिक छन् । 

हालै स्पेसएक्सको मूल्यमा भएको वृद्धि नै उनको सम्पत्ति बढ्नुको सबैभन्दा ठूलो कारण हो । मस्क टेस्लाबाट परम्परागत तलब लिँदैनन् । उनको पारिश्रमिक कम्पनीका सेयरमा आधारित छ । उनले टेस्लाका सेयर बेचेर नगद निकाल्नुको सट्टा ती सेयरलाई ऋणका लागि धितो राखेका छन्, जसले गर्दा उनी आफ्नो हिस्सेदारी कायम राख्न सफल भएका छन् ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भारत मात्र होइन, एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् । त्यस्तै, अडानी समूहका अध्यक्ष गौतम अडानी दोस्रो स्थानमा छन्। 

एलन मस्कको सन् २०२५ को आम्दानी अम्बानी र अडानीको कुल नेटवर्थभन्दा पनि बढी छ । अम्बानीको नेटवर्थ १०६ अर्ब डलर र अडानीको नेटवर्थ करिब ८५ अर्ब डलर छ । यसरी दुवैको कुल नेटवर्थ १९१ अर्ब डलर हुन्छ । तर मस्कले यो वर्ष मात्रै २०५ अर्ब डलर कमाएका छन् । पछिल्ला २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ ।