इलामलाई संकटग्रस्त घोषणा गरियो, तर हटेन संकट
विराटनगर । असोज १८ र १९ गतेको भीषण बाढी–पहिरोले संकटमा पुगेको इलामलाई संघीय सरकारले संकटग्रस्त घोषणा गर्यो, तर इलामको संकट अझै हटेको छैन ।
इलाममा बाढी र पहिरोका कारण १२ अर्ब भन्दा बढीको क्षति भयो । जिल्लाभर ३९ जनाले ज्यान गुमाएका छन् । इलाम नगरपालिकाभित्र मात्रै ७ जना मानिसको ज्यान गएको थियो । तर, संघीय सरकारले साढे ५ करोड रुपैयाँ मात्रै पठायो भने मृतकलाई राहत पनि वितरण गर्न नसकिएको जनाइएको छ ।
इलामबाटै निर्वाचित भएर कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बनेका रामबहादुर मगरले संघीय सरकारले संकटकाल घोषणा गरेर बजेट नपठाएको बताए । उनले ठुला सडक आयोजनाहरू संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भए पनि संघले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या देखिएको बताए ।
‘संकटकाल घोषणा गर्ने तर पैसा नदिने गर्न पाइँदैन,’ मन्त्री मगरले भने, ‘केन्द्रले संकटकाल घोषणा गरेर जम्मा ५ करोड रुपैयाँ मात्र पठाएको छ । कतै २० लाख त कतै ४० लाख पठाएको देखिन्छ, जुन निकै कम हो र त्यो रकम सकिइसक्यो ।’
मन्त्री मगरले प्रदेश सरकारले भने आफ्नो क्षेत्राधिकार भित्रका सडक र पुलहरूको लागि बजेट पठाइसकेको जानकारी दिए । ‘हामीले आफ्नो ठाउँमा बाटो खोल्ने र पुलको डाइभर्सन बनाउने जस्ता कामका लागि बजेट पठाइसकेका छौँ, त्यहाँ काम भइरहेको छ,’ उनले भने, ‘ठुला सडकको हकमा केन्द्रले कुन–कुन पुल र सडक बनाउने हो, त्यो स्पष्ट घोषणा गरेर प्रक्रियामा जानुपर्छ । प्रदेशले आफ्नो जिम्मामा रहेका बाटोहरूको आवश्यक बजेट व्यवस्थापन गर्छ ।’
बाढी र पहिरोका कारण घरबारविहीन भएका परिवारको पुनःस्थापनाका लागि प्रदेश सरकारले ठोस योजना अघि सारेको छ । मन्त्री मगरका अनुसार विस्थापितहरूका लागि घर बनाइदिने विषय अहिले छलफलको अन्तिम चरणमा पुगेको छ ।
‘आवास निर्माणमा संघीय सरकारको साझेदारी रहनेछ भने स्थानीय तहले जग्गा व्यवस्थापनमा सहयोग गर्नेछन्,’ उनले भने । सरकारले ४०–५० लाखको महँगो घर बनाउन नसक्ने स्पष्ट पार्दै ५ देखि ७ लाख रुपैयाँसम्मको लागतमा भूकम्प प्रतिरोधी मोडलका ठिक्कका घरहरू निर्माण गरिदिने बताए ।
आगामी वर्षा (मनसुन) सुरु हुनुअगावै विस्थापितहरूलाई घर उपलब्ध गराउने वा निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी सरकारले गृहकार्य गरिरहेको उनले बताए । ‘हामीले यो काममा ढिलो गर्दैनौँ । उपयुक्त मापदण्ड र डिजाइनका आधारमा घर बनाउने निर्णय अन्तिम चरणमा छ,’ मन्त्री मगरले भने ।
इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने लाइफलाइन मेची राजमार्गको अवस्था नाजुक छ । राजदुवालीस्थित माइखोला माथिको सडक र पुवाखोला आसपासको क्षेत्रमा अहिले पनि अस्थायी ट्याकबाट यातायात चलिरहेको छ । स्थानीयले केही दिन अगाडि उक्त सडक पुनःनिर्माण छिटो हुनुपर्ने माग गर्दै सडक डिभिजन कार्यालय इलामको कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
यद्यपि प्रमुख जिल्ला अधिकारीको रोहबरमा कार्यकक्षमा लगाएको तालाबन्दी खोलिए पनि समस्या समाधान नभएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए ।
