शुक्रबार ०८ फागुन, २०८२

जब एक गणितज्ञले चर्चका पादरीहरूलाई अनन्तताबारे बुझाउन लागे…

जब एक गणितज्ञले चर्चका पादरीहरूलाई अनन्तताबारे बुझाउन लागे…

सन् १८७८ देखि १९०३ को बीचमा पोप लियो १३औँ भ्याटिकनका प्रमुख थिए । ठ्याक्कै त्यही समयमा गणितको संसारमा जर्ज क्यान्टर नामका गणितज्ञले ‘अनन्तता’बारे एउटा नयाँ सिद्धान्त ल्याए । उनको उक्त सिद्धान्तले गणितको क्षेत्रमा तहल्का नै पिट्यो । कतिपयले उनको सिद्धान्तलाई साथ दिए भने केहीले विरोध गरे।

अहिले सो सिद्धान्त गणितको प्रमुख सिद्धान्तमध्येमा गनिन्छ । तर, जर्ज, त्यो सिद्धान्त र चर्चको कुरा निकै रोचक छ । त्यो कुरा यसै वर्ष क्याथोलिक चर्चका नयाँ पोप लिओ चौधौँ नियुक्त भएपछि पुन: सतहमा आएको थियो ।

जर्ज जर्मन गणितज्ञ थिए । उनी आफैंमा प्रोटेस्ट्यान इसाई थिए । भलै उनकी आमा क्याथोलिक थिइन् । जे भए पनि, धार्मिक पृष्ठभूमिमै हुर्किएका उनी गणितको प्रेममा परे । अहिले उनलाई सेट थ्योरीका संस्थापक र अनन्तता सम्बन्धी अवधारणालाई नयाँ तरिकाले व्याख्या गर्ने गणितज्ञ भनेर चिनिन्छ ।

तर, जुन बेला उनले अन्तताबारे नयाँ व्याख्या निकाले, केहीले त्यसको विरोध गरेका थिए । भलै ती विरोधले उनलाई फरक पारेन ।

उनलाई लाग्थ्यो कि, उनको त्यो सोच सिधा ईश्वरबाट आएको हो । तर अचम्म, गणितज्ञहरूले नै उनको कुरा बुझिरहेका थिएनन् । अनि अर्कोतिर उनको मानसिक स्वास्थ्य अवस्था बिग्रंदै गइरहेको थियो । त्यसले गर्दा उनी अरू गणितज्ञहरूदेखि डराउन थालेका थिए । उनीहरूलाई आफूलाई बर्बाद गर्न लागिरहेका छन् भन्ने डरमा उनमा निकै व्याप्त भइसकेको थियो । त्यहीकारण उनले आफ्ना कामहरू सार्वजनिक गर्न छाडिदिएका थिए ।

त्यसको विकल्पमा क्याथोलिक चर्चका पोप र पादरीहरूलाई आफ्नो कुरा बुझाउने सोच उनमा आयो । गणितले ईश्वरको दिमागलाई बुझ्न मद्दत गर्छ भन्ने उनको विश्वास थियो ।

त्यसबेला उनी विश्वास गर्थे कि, अनन्तता केवल गणितीय विषय मात्र होइन । यो आध्यात्मिक र दार्शनिक पनि हो । उनका हिसाबले यदि गणितले अनन्ताको संरचना देखाउन सक्छ भने त्यसले ईश्वरको अनन्त प्रकृति बुझ्न मद्दत गर्छ । त्यही कारणले उनले चर्चका उच्च पदस्थ व्यक्तिहरूलाई पत्र लेखेर आफ्नो विचार राख्न सुरु गरे ।

विशेष गरी उनले यी महत्वपूर्ण कुरा चर्चसमक्ष राखेका थिए, ‘मानिसले काम गर्ने गणितीय अनन्त र ईश्वरको अनन्त दुवै समान हुँदैनन् । यी फरक हुन्छन् । ईश्वरीय अनन्तता ईश्वरका लागि मात्र हो र मानिसले बुझ्न सक्दैनन् । तर, गणितीय अनन्तता गणितमार्फत मानिसले बुझ्न सक्छन्’ उनी यस्तो सोच्थे ।

त्यस्तै पत्रमा उनले गणितले धर्मलाई कुनै हानि नगर्ने पनि लेखेका थिए । अनि चर्चबाट यी सबका उत्तर उनले मिश्रित पाएका थिए । एक पादरीले भने धर्मलाई गणितले असर नगरे पनि उप्रान्त आफूलाई पत्र नलेख्न भनेका थिए ।

यी यस्ता घटनाबीच जर्जको स्वास्थ्यमा निकै गम्भीर समस्या देखिन थाल्यो । उनले अनौठो स्वभाव देखाउन थाले । यतिसम्म कि उनले शेक्सपियरका नाटकहरू अर्कैले लेखेको हो भनेर प्रमाणित गर्न लागिपरे । उनको त्यस्तो हालत देखेर कतिपयले उनलाई ‘पागल’को संज्ञा पनि दिन्थे ।

यद्यपि केही गणितज्ञहरूले उनको समर्थन गर्न सुरु गरे । सन् १८९७ सम्म आइपुग्दा संसारले उनको ‘सेट थ्योरी’ केही हदसम्म बुझ्न थालेको थियो । तर उनको मानसिक स्वास्थ्य सुधार भएन । उनको बाँकी जीवन मानसिक अस्पताल आउने-जानेमै बित्यो ।

आज उनले सुरु गरेको ‘सेट थ्योरी’लाई आधुनिक गणितको सबैभन्दा महत्त्वपूर्ण जग मानिन्छ । यसै थ्योरीमा अनन्तताबारे आधार र पूर्ण औपचारिक संरचना रहेका छन् ।