शुक्रबार ०९ माघ, २०८२

६ महिनामा नेपाल भित्रिए १२ अर्बको ५ हजार बढी ईभी, कुन देशबाट कति आयात ?

६  महिनामा नेपाल भित्रिए १२ अर्बको ५ हजार बढी ईभी, कुन देशबाट कति आयात ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ५ हजार ७३ वटा विद्युतीय गाडी (ईभी)  भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि पुससम्ममा २ वटा अन–एसेम्बल गरिएको गाडीसहित उक्त संख्यामा कार भित्राएका हुन् । 

विभागको प्रकाशित तथ्याङ्कमा १२ अर्ब ५ करोड ६९ लाख ३५ हजार रुपियाँको उक्त ईभी कार भित्रिएको उल्लेख छ । अघिल्लो महिना अर्थात् मंसिर महिनासम्म भने ३८ सय वटा विद्युतीय विभिन्न क्षमताका ईभी कार, जीप र भ्यान भित्रिएका थिए ।

विभागको तथ्याङ्कले मंसिर महिनामा मात्रै १२ सय ७३ वटा यस्ता गाडी भित्रिएको देखाउँछ । साथै, पुस महिनासम्म उक्त रकम बराबरको ईभी कार आयात हुँदा सरकारलाई ७ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । 

नेपालमा ईभीप्रति आकर्षण र प्रयोगमा रफ्तार देखिँदा आयातमा पनि उल्लेखनीय वृद्धि भएको हो । ५० किलोवाटको अन–एसेम्बल गरिएको २ वटा ईभी गाडी आएको भन्सार विभागले जानकारी दिएको छ । 

यस्तै, पुस महिनासम्म ५० किलोवाटका १५ सय ८५ वटा, ५१ देखि १०० किलोवाटका ३ हजार १७ वटा, १०१ देखि २०० किलोवाटसम्मको ४६३ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ६ वटा ईभी गाडी आएका छन् । 

५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यस्तै, तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ । पुष महिनासम्म मात्रै ४६ करोड २७ लाख लाख ४५ हजार रुपियाँको ४ हजार ४४० वटा तीन पाङ्ग्रे ईभी भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।  

कुन देशबाट कति आयात ?

पेट्रोलडिजेलको तुलनामा बिजुली सस्तोमा उपलब्ध हुँदा पनि बिजुली गाडीको नेपालमा लोकप्रियता बढ्दै गएको हो ।  

नेपालमा ईभी प्रयोगको बढ्दो क्रममा कार सेग्मेन्टमा मात्रै नभई हरेक सेग्मेन्टका सवारीको आयातमा ईभीको वर्चस्व देखिन्छ । प्रयोगकर्ताको रोजाइ र ईभीलाई लिएर बढ्दै गएको विश्वासले आयात उच्च भएको छ । 

यद्यपि नेपालमा आयात हुने विद्युतीय सवारीको आयातले वर्षेनी रेकर्ड ब्रेक गर्दै गइरहेको अवस्थामा यस वर्ष पनि ईभीको आयातले नयाँ आयाम थप्नेमा व्यवसायीहरू पनि विश्वस्त छन् । 

भारतबाट २ वटा अन–एसेम्बल गाडी आएका छन् भने पुष महिनासम्म ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १०६० र भारतबाट ५२५ वटा भित्रिएका छन् । यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २२५५, भारतबाट ३६०, थाइल्यान्डबाट ४०१ र युकेबाट १ वटा आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।  

यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ४१४, भारतबाट २८, जर्मनीबाट ९, कोरियाबाट २ र अमेरिकाबाट १० वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएको गाडी अमेरिकाबाट एक, चीन चार र अस्ट्रेलियाबाट १ वटा आयात भएको उल्लेख गरेको छ । 

ईभीप्रति सरकारले नीति नियममा गरेको सहजीकरण साथै यसको पूर्वाधार विकासमा बढ्दो लगानीले यस क्षेत्रलाई सकारात्मक दिशातर्फ अघि बढाएको छ । विश्वव्यापी रूपमा ईभीको भविष्यमा सकारात्मक देखिँदा यसको प्रयोग अझै नेपालमा बढ्ने व्यवसायीहरूले बताउँदै आएका छन् ।