आइतबार ०३ फागुन, २०८२

प्रतिनिधिसभा निर्वाचन : प्रचण्डको चुनाव खर्च २७ लाख, कसले कति खर्च गर्न पाउँछन् ?

प्रतिनिधिसभा निर्वाचन : प्रचण्डको चुनाव खर्च २७ लाख, कसले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर चुनावी माहोल तातेको छ।

माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न भइसकेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि ३ हजार ४८४ जना उम्मेदवार मैदानमा उत्रिएका छन्।

२३ र २४ भदौको जेन–जी विद्रोहपछि उत्पन्न ‘अर्ली इलेक्सन’ले मुलुकलाई चुनावमय बनाएको छ। यसपटक पुराना राजनीतिक दल र तिनका स्थापित नेताहरूलाई चुनौती दिन नयाँ दल र स्वतन्त्र उम्मेदवारहरू सक्रिय रूपमा अघि आएका छन्।

झापा–५ मा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाडो चुनौती दिँदै काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन) उम्मेदवार बनेका छन्। सोही क्षेत्रमा नेकपाले युवा नेता रञ्जित तामाङलाई पनि उम्मेदवार बनाएको छ।

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो निर्वाचन जितेको गोरखा–२ छोडेर यसपटक रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन्। अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट चुनाव लड्न गोरखा–२ फर्किएका छन्।

पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधवकुमार नेपाल ले पुनः रौतहट–१ बाट उम्मेदवारी दिएका छन्। तर, उनी पतञ्जलि प्रकरणसँग जोडिएको उजुरीका कारण विवादमा छन्।

यता नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। पार्टीभित्रको शक्ति संघर्षपछि महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनमार्फत सभापति बनेका छन्। थापाले आफ्नो पुरानो क्षेत्र काठमाडौं–४ छोडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्, जहाँ उनको प्रतिस्पर्धा रास्वपाका अमरेशकुमार सिंहसँग हुँदै छ।

यसपटकको निर्वाचनमा पुराना र नयाँ, अनुभवी र युवा, स्थापित र उदाउँदा नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। अझै महत्वपूर्ण कुरा, कुनै पनि दलले चुनावी गठबन्धन नगरी एक्लाएक्लै मैदानमा उत्रिनु निर्वाचनलाई थप रोचक बनाएको छ।

यस्तो अवस्थामा उम्मेदवारहरूको व्यक्तिगत लोकप्रियता र आर्थिक क्षमताले निर्णायक भूमिका खेल्ने देखिन्छ। चुनावी प्रचारप्रसारमा ठूलो मात्रामा खर्च हुने सम्भावना रहे पनि निर्वाचन आचारसंहिताले खर्चको सीमा तोकेको छ।

कसले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगका अनुसार उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रअनुसार तोकिएको अधिकतम खर्चको सीमाभित्र रहेर मात्र खर्च गर्न पाउँछन्।

प्रचण्ड (रुकुम पूर्व): अधिकतम २७ लाख रुपैयाँ

केपी शर्मा ओली / बालेन्द्र शाह (झापा–५): जनही ३१ लाख रुपैयाँ

डा. बाबुराम भट्टराई (गोरखा–२): २९ लाख रुपैयाँ

माधवकुमार नेपाल (रौतहट–१): २९ लाख रुपैयाँ

गगनकुमार थापा (सर्लाही–४): २९ लाख रुपैयाँ

यद्यपि, यी सीमा औपचारिक खर्चका लागि मात्र हुन्। व्यवहारमा चुनाव जित्न अनौपचारिक खर्च धेरै हुने गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्, जसले खर्च सीमाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारले छुट्टै बैंक खाता खोली सोही खातामार्फत मात्र चुनावी खर्च गर्नुपर्ने र सम्पूर्ण विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था छ।