सुध्रिदै माछापुच्छ्रे बैंकको वित्तिय अवस्था, दोस्रो त्रैमासमा सार्वजनिक गर्यो लोभलाग्दो प्रगती
काठमाडौं । माछापुछ्रे बैंकले लोभलाग्दो प्रगती गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले १ अर्बभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा करोडमा नाफा खुम्चिएको बैंक अर्बपती क्लबमा चढेको छ ।
बैंकले ६ महिनामा १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा देखिएको छ । गत आवको यसै अवधिमा ८० करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो । यसलाई आधार मान्ने हो भने अहिलेको नाफा २५.२५ प्रतिशत बढी हो ।
बैंकले कर्जा लगानी र निक्षेप संकलन पनि बढाएको छ । ६ महिनाको अवधिमा बैंकको कुल कर्जा १३ अर्ब रुपैयाँले बढेको छ । यो सँगै कर्जा लगानी १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ पुर्याएको छ । निक्षेप पनि २८ अर्बले बढाएर २ खर्ब ४ अर्ब ४ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ ।
बैंकको गैरसञ्चालन खर्च १ करोड ७७ लाख रुपैयाँ छ । गत आवको यही अवधिमा यस्तो खर्च ४७ करोड १३ लाख रुपैयाँ थियो । गैरसञ्चालन खर्च घट्दा बैंकले नाफा बढाउन सकेको हो । बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा २ अर्ब ८२ करोड ३७ लाख रुपैयाँबाट बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ कायम भएको छ । यसैगरी खुद फि एन्ड कमिसन आम्दानी ६७ करोड २१ लाखबाट बढेर ८२ करोड ८ लाख पुगेको छ ।
माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १३.३६ बाट १६.७३ रुपैयाँ कायम भएको छ ।बैंकको प्रतिसेयर नेटवर्थ १६१.६० रुपैयाँ र पीई रेसियो रेसियो १३.६१ छ ।
