प्रतिनिधिसभा निर्वाचन : राजनीतिमा होमिएका व्यवसायीको दौडधुप
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अहिले भोट माग्न उम्मेदवारहरु जनताका घरदैलो पुग्न थालेका छन् ।
यसैक्रममा नेपाली राजनीतिमा प्रत्यक्ष रुपमा सहभागी हुने व्यवसायीहरूको संख्या पनि बढ्दो छ ।
यसपटक एक दर्जन बढी उद्यमी व्यवसायीहरु चुनाबी मैदानमा छन् । उद्योगपतिदेखि बैंकर, पर्यटन व्यवसायी, निर्माण उद्यमी र मिडिया उद्यमीहरू संसद प्रवेशको दौडमा छन् ।
यो निर्वाचनमा एकातिर राजनीतिमा नयाँ व्यवसायी अनुहारहरूको उदय गराएको छ भने लामो समयदेखि राजनीतिमा सक्रिय रहेका व्यवसायीहरु पनि संसद छिर्ने दाउमा रहेका छन् ।
अहिले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका वा हालसालै राजनीतिमा प्रवेश गरेका व्यवसायीहरूको संख्या उल्लेखनीय छ ।
समानुपातिक उम्मेदवारका रुपमा गोल्ड स्टार जुत्ताका निर्देशक विदुषी राणादेखि प्रत्येक्षमा यसोदा फुड्सका सञ्चालक चुन्नप्रसाद शर्मासम्म छन् ।
रुपन्देही–२ बाट यशोदा फुड्सका सञ्चालक तथा बुटवल अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा नेपाली कांग्रेसबाट पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् ।
भक्तपुर–२ बाट मिडिया उद्यमी कवीर राणा चुनावी प्रतिस्पर्धामा छन् । देशान्तर मिडियाका अध्यक्ष रहेका राणाको उम्मेदवारीले मिडिया क्षेत्रबाट राजनीतिमा प्रवेश गर्ने नयाँ प्रवृत्तिलाई देखाएको छ ।
सर्लाही–१ बाट महिला उद्यमी नितिमा कार्की उम्मेदवार बनेकी छन् । उनको उम्मेदवारीले महिला व्यवसायीहरूको राजनीतिमा बढ्दो सहभागिताको संकेत गर्छ ।
झापा–१ बाट मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष केशवराज पाण्डे कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् ।
मोरङ–२ मा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष दिलिपकुमार अग्रवाल एमालेबाट उम्मेदवार बनेका छन् ।
स्याङ्जा–१ मा बैंकिङ क्षेत्रका दुई व्यक्तित्व आमनेसामने छन् । मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्षद्वय भरतराज ढकाल कांग्रेसबाट र मीनप्रसाद गुरुङ एमालेबाट उम्मेदवार छन् ।
स्याङ्जा–१ बाटै राष्ट्रिय स्वतन्त्र पार्टीका धनञ्जय रेग्मी उम्मेदवार छन् । होटल तथा अटोमोबाइल व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसीईओ रहेका रेग्मी चुनावी मैदानमा छन् ।
उदयपुर १ मा पारसमणी गेलाल उम्मेदवार छन् । रास्वपाबाट उम्मेदवारी दिएका उनी अटो व्यवसायी हुन् ।
नवलपरासी पश्चिम–१ मा विनोद चौधरी कांग्रेसबाट उम्मेदवार छन् । उनी विश्वका धनीव्यक्तिहरुको सूचीमा पर्ने नेपालका एक मात्र उद्योगपति हुन् । २०७४ मा कांग्रेस प्रवेशपछि समानुपातिक सांसद बनेका चौधरी २०७९ मा प्रत्यक्ष निर्वाचन जितिसकेका छन् ।
कपिलवस्तु–३ मा लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्र कनौडिया एमालेबाट उम्मेदवार बनेका छन् । पार्टी प्रवेश गरेको २४ घण्टाभित्रै कनौडियाको टिकट पाएका हुन् ।
सिराहा–४ मा डा. वीरेन्द्रप्रसाद महतो जनता पार्टीबाट प्रतिस्पर्धामा छन् । महतो पूर्व वनमन्त्री तथा माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष हुन् ।
मोरङ–३ मा डा. सुनिल शर्मा उम्मेदवार छन् । मेडिकल कलेज सञ्चालक रहेका शर्मा यसअघि सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।
पर्सा–१ मा अनिल रुङ्गटा कांग्रेसबाट उम्मेदवार छन् । निर्माण उद्योग प्रतिसष्ठत व्यवसायी अनिल रुङ्गटा समूहका प्रमुख हुन् ।
सोलुखुम्बुमा फ्रेट फरवार्डर्स एसोसिएसनका पूर्वअध्यक्ष प्रकाशसिंह कार्की कांग्रेसबाट उम्मेदवार छन् ।
मुस्ताङमा होटल व्यवसायी योगेश गौचन कांग्रेसबाट उम्मेदवार छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
बारा–४ मा व्यवसायी कृष्णकुमार (किसान) श्रेष्ठ एमालेबाट उम्मेदवार छन् । उनी यसअघि सोही क्षेत्रबाट र त्यसभन्दा अघि तनहुँबाट निर्वाचित भएका थिए ।
