चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। यो रकम निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र अन्तर्गतका सुरक्षा निकायहरूको निर्वाचन परिचालन तथा सुरक्षाका लागि छुट्याइएको हो।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार गृह मन्त्रालयले १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयले १ अर्ब ९९ करोड र निर्वाचन आयोगले ६ अर्ब ७२ करोड रुपैयाँ पाएका छन्। आगामी निर्वाचनमा कुल खर्च करिब २५ अर्ब रुपैयाँ पुग्ने अनुमान सरकारको छ, जसअनुसार स्रोत व्यवस्थापन भइरहेको छ।
पछिल्ला दुई निर्वाचनको तथ्याङ्क हेर्दा, २०७९ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल २८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो। त्यसमध्ये सुरक्षा निकायहरूको खर्च निर्वाचन आयोगभन्दा बढी रहेको देखिएको छ।
गत निर्वाचनमा, निर्वाचन आयोगले आफ्नो बजेटको करिब ८० प्रतिशत खर्च गरेको थियो भने गृह मन्त्रालय र रक्षा मन्त्रालयले पाएको बजेटको लगभग शतप्रतिशत खर्च गरेका थिए। यस वर्ष पनि सुरक्षा व्यवस्था महँगो हुने अपेक्षा गरिएको छ।
केन्द्रीय सुरक्षा समिति बैठकले १ लाख ४७ हजार निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरिरहेको छ। उनीहरूको ४० दिनको कार्यअवधिका लागि पारिश्रमिक, पोसाक, रासन भत्ता, यातायात खर्च र खाजामा करिब ९ अर्ब १५ करोड रुपैयाँ विनियोजन गर्न प्रस्ताव गरिएको छ।
त्यस्तै, नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेना ३ अर्ब ४४ करोड, सशस्त्र प्रहरी ३ अर्ब ३३ करोड, ७७ जिल्ला प्रशासन कार्यालय ३१ करोड ४६ लाख, गृह मन्त्रालय ३१ करोड र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ९० लाख रुपैयाँ विनियोजनको प्रस्ताव अर्थ मन्त्रालयमा पेश भएको छ।
निर्वाचनमा मतपत्र व्यवस्थापनको खर्चभन्दा सुरक्षा खर्च बढी महँगो हुँदै गएको देखिन्छ।
