कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घट्यो
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि बैंकले गत आवको पुस मसान्तसम्म कमाएको खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँको तुलनामा २६ प्रतिशतभन्दा कम हो ।
खुद नाफा घटेको भए पनि तथ्यांक अनुसार बैंकको आम्दानीमा भने बढोत्तरी नै देखिएको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँबाट बढेर ४ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी समीक्षा अवधिमा खुद फी तथा कमिशन आम्दानी ६१ करोड ७४ लाख रुपैयाँबाट बढेर ६२ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४ अर्ब ८६ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ । आम्दानी बढे तापनि बैंकको सञ्चालन नाफा भने १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँबाट घटी १ अर्ब ९२ लाख रुपैयाँमा झरेको छ ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.४७ रुपैयाँबाट घटी ९.८९ रुपैयाँमा झरेको छ भने बैंकको निष्क्रिय कर्जा (एनपीएल) पनि ४.९० प्रतिशतबाट ४.६५ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२४.३७ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ७१ करोड ९८ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी १९ अर्ब ७३ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा करीब ७२ करोड रुपैयाँ र रिजर्भमा १७ अर्ब ७ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले २ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
