बिहीबार १५ माघ, २०८२

वाणिज्य बैंकहरूको नाफा ११ प्रतिशतले बढ्यो, नबिल अग्रस्थानमा रहँदा अरुको कति ?

वाणिज्य बैंकहरूको नाफा ११ प्रतिशतले बढ्यो, नबिल अग्रस्थानमा रहँदा अरुको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशतले बढेको छ । बैंकहरूले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा यस्तो सुधार देखिएको हो ।  

चालु आवको यो अवधिमा बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । गत आर्थिक वर्ष अर्थात् २०८१/८२ को यही अवधिमा बैंकहरूले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए । 

अर्थतन्त्रमा देखिएको सुस्तता, बढ्दो खराब कर्जा र कर्जा प्रवाहमा आएको संकुचनका बाबजुद बैंकहरूले आफ्नो नाफामा दोहोरो अंकको वृद्धि कायम राख्न सफल भएका हुन् । विवरण अनुसार २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा बढेको छ । आठ बैंकको नाफा घट्दा एक बैंक भने नोक्सानमा रहेका छन् । 

नाफामा नबिल बैंकको अग्रता

यो अवधिमा नाफाको आधारमा नबिल बैंकले अग्र स्थानमा देखिएको छ । उक्त बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिलको यो नाफा गत वर्षको तुलनामा ४६.७१ प्रतिशत बढी हो । 

केही समय अघि मात्रै नयाँ नेतृत्व ल्याएको बैंकले त्यसपछिको पहिलो रिपोर्टमै उत्साहजनक प्रदर्शन गरेको हो । बैंकको ४१ औं साधारणसभाबाट बैंकको अध्यक्ष निर्वाण चौधरी नियुक्त भएका छन् भने पूर्व सीईओ अनिलकेशरी शाह सञ्चालकको रुपमा आएका छन् । 

दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आईएमईले यो अवधिमा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यही अवधिमा कमाएको नाफाभन्दा ६.५० प्रतिशत बढी हो । मर्जरपछिको ठुलो संरचनालाई व्यवस्थापन गर्दै नाफामा स्थिरता कायम राख्नु यस बैंकको मुख्य उपलब्धि रहेको देखिन्छ । 

कुमारी बैंकको चमत्कारिक सुधार

यस अवधिमा नाफामा सबैभन्दा धरै प्रतिशत सुधार कुमारी बैंकको रहेको देखिएको छ । गत वर्षको पुससम्म मात्र २७ करोड ५७ लाख रुपैयाँ नाफा गरेको यस बैंकले यसपालि ८८६.५० प्रतिशतको वृद्धि गर्दै २ अर्ब ७२ करोड रुपैयाँ नाफा पुर्‍याएको  हो । 

खराब कर्जाको वृद्धि रोकिएसँगै इम्पेरिमेन्ट चार्जबापत छुट्याउनुपर्ने रकम घट्दा नाफामा सुधार आएको देखिन्छ । योसँगै कुमारी सर्वाधिक नाफा गर्ने सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । 

दुई सरकारी बैंकले बढाए प्रभाव

सरकारी स्वामित्वका बैंकहरूले पनि यो अवधिमा निकै राम्रो प्रदर्शन गरेका छन्। नेपाल बैंकले १८३.०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा बढाएका छन् । 

ती बैंकहरूले पुराना खराब कर्जा उठाउन सफल हुनु र सञ्चालन खर्चमा गरेको कटौतीले नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ । 

यीबाहेक सिद्धार्थ बैंकले नाफामा १५० प्रतिशत सुधार गरेर १ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । माछापुच्छ्रे बैंकले २५.२५ प्रतिशत, सानिमा बैंकले १६.६७, नेपाल एसबीआई बैंक १४.५६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ९.२७ प्रतिशत र एभरेस्ट बैंकले २.०४ प्रतिशत नाफा बढाएका छन् । 

आठ बैंकहरुको नाफा घट्यो, एक बैंक नोक्सानमा 

२० वाणिज्य बैंकमध्ये ८ वटा बैंकको खुद नाफामा गिरावट आएको छ । सिटिजन्स बैंक इन्टरनेशनलको ४५.७८, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३.०५ र प्रभु बैंकको नाफामा २४.०८ ले संकुचन आएको छ । यी बैंकहरूमा यो अवधिमा बैंकले थप प्रोभिजनिङ गर्नुपर्दा नाफा घटेको देखिन्छ ।

त्यस्तै, कृषि विकास बैंकले २६.१२ प्रतिशत, एनएमबि बैंकले १७.१७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.२९ प्रतिशत, हिमालयन बैंकले १४.८९ प्रतिशत र एनआईसी एशिया बैंकले १३.५४ प्रतिशत गुमाएका छन् ।  

यो अविधमा लक्ष्मी सनराइज बैंक भने नोक्सानमा छ । गत वर्ष यही अवधिमा १ अर्ब १६ करोड नाफामा रहेको बैंक चालु आवको छ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा गएको हो । इम्पेरिमेन्ट चार्मा ४ अर्ब ४७ करोड छुट्याउनुपर्दा बैंक नोक्सानको अवस्थामा पुगेको हो ।   

यी विवरणहरुले बैंकहरु अझै पनि  खराब कर्जा, कर्जाको मागमा कमी, ब्याजदर अन्तरले बढेको देखिन्छ । अर्थतन्त्रको शिथिलताका कारण ऋणीहरूले समयमा सावाँ-ब्याज तिर्न नसक्दा बैंकहरूको निष्क्रिय कर्जा बढेको छ। यसले गर्दा बैंकहरूले नाफाको ठुलो हिस्सा प्रोभिजनिङमा खर्च गर्नुपरेको छ।

बजारमा तरलता पर्याप्त भए पनि नयाँ लगानीका क्षेत्रहरू नखुल्दा कर्जा प्रवाह सुस्त छ । राष्ट्र बैंकको कसिलो नीतिका कारण स्प्रेड दर घट्दै जाँदा बैंकहरूको आम्दानीको मुख्य स्रोतमा चाप परेको छ ।