सर्वाधिक नाफा आर्जन गर्ने शीर्ष स्थानमा नबिल बैंक
काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको तुलनामा सबैभन्दा धेरै हो ।
चालु आव २०८२/८३ पुससम्म नबिलको नाफा गत आव सोही अवधिको तुलनामा ४६.७ प्रतिशतले वृद्ध भएको हो । गत आव सोही अवधिमा नबिलले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आव दोस्रो त्रैमासमा न्यून ब्याजदरका कारण बैंकको ब्याज खर्चभन्दा आम्दानी बढेको छ । सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८ करोड पुगेको छ । गत आव सोही अवधिमा खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड थियो ।
चालु आवको ब्याज आम्दानी र खर्च गत आवभन्दा थोरै भए पनि न्यून ब्याजदरका कारण बैंकको खुद ब्याज आम्दानी बढेको हो ।
त्यसैगरी चालु आव सोही अवधिमा बैंकको फि कमिसन र व्यापारिक आम्दानी पनि बढेर १ अर्ब ६१ करोड पुगेको छ । त्यसैगरी ट्रेडिङ आम्दानी ४६ करोड ४३ लाख छ ।
यी दुवै शीर्षकको नाफा गत आव सोही अवधिको तुलनामा बढेको हो । गत आव पुससम्म नबिलको खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब ५१ करोड र ट्रेडिङ आम्दानी ३४ करोड २६ लाख थियो ।
विगतका वर्षमा कर्जा नोक्सानी व्यवस्था गर्नुपरेकोमा चालु आवको असुलीमा सुधार भएको देखिएको छ । बैंकको कर्जा डिफल्ट दर घटेर नोक्सानी व्यवस्था गर्नुपरेको छैन भने विगतको नोक्सानी व्यवस्थाबाट ४ करोड ८८ लाख रुपैयाँ फिर्ता भएको छ । तर, गत आव सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड रुपैयाँ कर्जा नोक्सानी गर्नुपरेको थियो ।
चालु आव दोस्रो त्रैमाससम्म बैंकले ५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी ४ खर्ब ७४ अर्ब पुगेको छ । गत आव सोही अवधिको तुलनामा बैंकको कर्जा लगानी ४ खर्ब १० अर्ब थियो ।
चालु आव दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड रुपैयाँ छ । गत आव सोही अवधिमा यस्तो नाफा १ अर्ब ८९ करोडमात्र थियो ।
चालु आव पुससम्म बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ४ पैसा पुगेको छ । गत आव २४ रुपैयाँ ५ पैसा थियो । त्यसैगरी प्रतिसेयर किताबी मूल्य २ सय ३५ रुपैयाँ ६४ पैसा छ । सोही अवधिमा बैंकको कस्ट अफ फन्ड ३.६२ प्रतिशत छ भने खराब कर्जा अनुपात ०.८८ प्रतिशत मात्रै छ । गत आव दोस्रो त्रैमासमा नबिल बैंकको खराब कर्जा अनुपात ४.९३ प्रतिशत थियो ।
चालु आव दोस्रो त्रैमासमा बैंकको आधार ब्याजदर ५.०४ प्रतिशत छ भने कर्जा निक्षेपको ब्याजदर अन्तर ३.५४ छ । बैंकको रिटर्न अन इक्विटी १४.५४ प्रतिशत छ ।
