शुक्रबार १६ माघ, २०८२

स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ : प्रचण्ड

स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन् ।

पार्टीको रुकुम पुर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरु निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोशिशमा रहेको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका हुन् ।

प्रत्यक्षतर्फ पार्टी पहिलो हुने अवस्था देखिएपनि समानुपातिकमा भने नेकपा पहिलो हुने सम्भावना कम रहेको उनको भनाइ छ । प्रचण्डले पार्टी पङ्तीले अलि मेहनत गरे प्रत्यक्ष र समानुपातिक जोड्दा एक नम्बर पार्टी बन्ने सम्भावना रहेको धारणा राखे , उनले निर्वाचनका बारेका यसअघि धेरै प्रश्न उठेपनि नेकपाले निर्वाचनमा जोड दिएको र देश निर्वाचनमय भएको बताए । प्रचण्डले जेनजी आन्दोलनपछि मुलुक असाधारण जटिल परिस्थितिबाट गुज्रिएकाले राष्ट्रलाई एकताबद्ध गर्ने र आन्दोलनलाई एउटा नयाँ उचाइ दिनका लागि आफुले रुकुम पूर्वलाई चयन गरेको उल्लेख गरे ।

उनले सहिदहरूका सपना, क्रान्तिकारीहरूका सपनालाई पुरा गर्न समुदायमा आधारित समाजवादको मोडेल खडा गर्ने प्रतिवद्धता जनाए । रुकुम पूर्व नेपाली क्रान्तिको, जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका भएकाले आफ्ना लागि खास क्षेत्र रहेको उनको भनाइ छ ।