सोमबार १९ माघ, २०८२

क्युबामा अमेरिकी दूतमाथि भिडको दुर्व्यवहार, वासिङ्गटनको भर्त्सना

क्युबामा अमेरिकी दूतमाथि भिडको दुर्व्यवहार, वासिङ्गटनको भर्त्सना

काठमाडौं । क्युबाको राजधानी हभानामा रहेका शीर्ष अमेरिकी कूटनीतिज्ञमाथि स्थानीय भिडले दुर्व्यवहार गरेपछि संयुक्त राज्य अमेरिकाले क्युबाली सरकारको कडा आलोचना गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले यसलाई ‘तल्लोस्तरको धम्कीपूर्ण रणनीति’ भन्दै क्युबालाई कूटनीतिक कार्यमा अवरोध नगर्न चेतावनी दिएको छ।

अमेरिकी कूटनीतिज्ञ माइक ह्यामर स्थानीय चर्चका नेताहरूसँगको भेट सकेर फर्किने क्रममा केही मानिसहरूले उनीविरुद्ध नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा मानिसहरूले ह्यामरलाई ‘साम्राज्यवादी’ र ‘हत्यारा’ भन्दै गाली गरेको देखिन्छ ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि ‘असाधारण खतरा’ घोषणा गरेका छन्। साथै, उनले क्युबालाई इन्धन आपूर्ति गर्ने जुनसुकै देशमाथि भारी कर लगाउने चेतावनीसमेत दिएका छन्।

क्युबाली सरकारले भने अमेरिकी दूत ह्यामरले देशमा अशान्ति फैलाउन खोजेको र आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

सन् १९५९ को क्रान्तिदेखि नै यी दुई देशबिच शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ। पछिल्लो समय क्युबाको आर्थिक संकट र ट्रम्प प्रशासनको बढ्दो दबाबले यो द्वन्द्वलाई फेरि उत्कर्षमा पुर्‍याएको छ।