भारत-अमेरिका व्यापार सम्झौता : भारतमाथिको भन्सार कर १८ प्रतिशतमा झारियो
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटा व्यापार सम्झौताका लागि आफू सहमत भएको बताएका छन्। सहमतिअनुसार अमेरिकाले भारतीय सामानहरूमाथि लगाउँदै आएको २५ प्रतिशत ट्यारिफमा कटौती गरी १८ प्रतिशत कायम हुने छ।
सामाजिक सञ्जाल 'सोशल ट्रूथ'मा गरेको एउटा पोस्टमा ट्रम्पले जनाएअनुसार भारतले अमेरिकी सामानमा लगाउँदै आएको ट्यारिफ शून्यमा झार्ने छ भने रुसँग तेल किन्ने कार्य पनि बन्द गर्ने छ। दिल्लीले रुससँग तेल खरिद गर्न अस्वीकार गरेपछि अमेरिकाले लगाएको २५ प्रतिशत अतिरिक्त शुल्क पनि हटाइने उनले जनाए।
करिब दुई दशकयताको प्रयासमाझ भारत र युरोपेली सङ्घ ईयूबीच एउटा महत्त्वपूर्ण व्यापार सम्झौता भएको एक साता पनि नबित्दै ट्रम्पले भारतसँगको व्यापार सम्झौताबारे यो घोषणा गरेका हुन्। मोदीको आग्रह अमेरिकासँग सहमति हुँदा आफू हर्षित भएको मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। मोदीसँग बिहान भएको टेलिफोन कुराकानीमा व्यापार र रुस(युक्रेन युद्धका विषय समेटिएको ट्रम्पले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।
'उनी रुसबाट तेल खरिद बन्द गर्न र अमेरिका अनि सम्भवतः भेनेजुएलाबाट अझ बढी तेल किन्न सहमत भएका छन्,'ट्रम्पले लेखेका छन्। मोदीको आग्रहमा व्यापार सम्झौताका लागि आफू तत्कालै सहमत भएको उल्लेख गर्दै ट्रम्पले त्यसअनुसार अमेरिकी ट्यारिफ घट्ने छ र भारतीय ट्यारिफ तथा ननट्यारिफ ब्यारिअर घटेर शून्यमा झर्ने छ।
त्यसका साथै ट्रम्पका अनुसार मोदीले अमेरिकाबाट ५०० अर्ब डलर बराबरका ऊर्जा, प्रविधि, कृषि र कोइला उत्पादनसहितका सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकाले भारतमाथि गत अगस्टमा ५० प्रतिशत ट्यारिफ लगाएपछि दुई देशबीचको व्यापारिक सम्बन्धमा तिक्तता उत्पन्न भएको छ। त्यो एशियाली देशमाथि लगाइएको सबैभन्दा बढी ट्यारिफ थियो।
त्यसबाहेक रुसबाट भारतले तेल आयात गर्ने गरेकोमा अमेरिकाले अतिरिक्त २५ प्रतिशत शुल्क लगाउँदै आएको छ।
