स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी
काठमाडौँ । सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादीत ईभीको परीक्षण गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष भेष थापाले जानकारी दिए ।
उनले नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न शुरु गरिएको बताए । कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ ।
ईभी सवारीको प्रवद्र्धन गर्ने सोचसहित कम्पनीले नेपालमा पहिलोपटक सुन्दर चार्जिङ स्टेशन स्थापना गरेर सञ्चालनमा ल्याएको थियो । सोही क्रममा तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडी बढाएको अध्यक्ष थापाले जानकारी दिए ।
नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको उनले बताए ।
सुन्दर अटो इन्जिनियर प्रा.लि.ले निर्माण गरेको १४ सिटर ईभीमा एसी, पंखा जडान गर्न मिल्ने, सिसा जडित संरचना रहेको छ । सवारीले १४ यात्रु र प्रतिव्यक्ति ५० केजी भारसहित १७ डिग्री उकालो चढ्नसक्ने क्षमता राख्दछ । मुख्य रूपमा सहर केन्द्रित यो सवारी काठमाडौं उपत्यका, तराई तथा देशका प्रमुख शहरमा सञ्चालन गर्न उपयुक्त रहेको कम्पनीका अध्यक्ष थापाले जानकारी दिए ।
