बुधबार २१ माघ, २०८२

निर्वाचन तयारी : भारतबाट तेस्रो खेपमा २०० बढी गाडी नेपाल ल्याइँदै

निर्वाचन तयारी : भारतबाट तेस्रो खेपमा २०० बढी गाडी नेपाल ल्याइँदै

काठमाडौं । निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ । भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो ।

भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो गाडीहरु नेपाल ल्याइँदै छ ।

यसअघि पहिलो खेपमा ६१ वटा गाडी ल्याइएको थियो । ती गाडीहरु माघ ६ गते नै भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी ५३८ थान गाडी नेपाललाई उपलब्ध गराउने बताइएको छ ।

निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत गाडी माग गरेको थियो ।

सबै गाडीहरु भारतीय दूतावासले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृह मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने गरेको छ ।

भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरुको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरुमा समेत आगजनी हुँदा भवन र सवारी साधनहरु नष्ट भएका थिए ।

गृह मन्त्रालयले निर्वाचन तयारीबारे छलफल गर्दा धेरै जिल्लाबाट गाडीको माग आउने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘हामी निर्वाचनका लागि तयारीमै छौं । तर गाडी अभाव छ भनेर जिल्लाबाट माग भइरहेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

निर्वाचन प्रयोजनका लागि भारतको सहयोग स्वरुप प्राप्त गाडीहरु निर्वाचनपछि नेपाल सरकारले आवश्यकता अनुसार आफू अनुकूल प्रयोग गर्न पाउने छ ।