बुधबार २१ माघ, २०८२

कांग्रेसले भन्यो : झापा-५ मा चुनावी तालमेलको हल्ला निराधार

कांग्रेसले भन्यो : झापा-५ मा चुनावी तालमेलको हल्ला निराधार

काठमाडौं । नेपाली कांग्रेसले झापा-५ मा एमालेसँगको तालमेलबारे गलत नियतले भ्रम फैलाइएको स्पष्ट पारेको छ ।

झापा-५ मा कुनै चुनावी तालमेलको सम्भावना नरहेको जनाउँदै क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले जारी गरेको विज्ञप्तिमा ‘गलत मनशाय भएका व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत कपोकल्पित सूचना दिएर मतदाता भ्रममा पार्न खोजेको’ उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले सार्वजनिक रूपमा निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने कुरा सार्वजनिक भइसकेको र सो प्रतिविद्धतामा कांग्रेस अडिग रहेको कुरा स्मरण गराउन चाहान्छौं । साथै नेपाली कांग्रेसका शुभचिन्तक र कार्यकर्ताहरूले पनि यस प्रकारका कुनै पनि भ्रममा नपर्न र अफवाहको पछि नलाग्न अनुरोध गर्दछौँ ।’

झापा-५ चर्चित र चासोपूर्ण रुपमा हेरिएको निर्वाचन क्षेत्र पर्छ । यहाँ कांग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ भने एमाले अध्यक्ष केपी ओली, रास्वपाका वरिष्ठ नेता बालेन शाह र नेकपाबाट रञ्जित तामाङ चुनावी प्रतिस्पर्धामा छन्।