चुनावमा प्रविधिको दुरुपयोग हुन हुँदैन, आयोग सचेत छ : भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरुले पहल गर्ने प्रतिवद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनल यस्तो बताएका हुन् ।
प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने उनको भनाइ छ ।
‘आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । दुरुपयोगले निर्वाचनलाइ अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुन्छ,’ उनले भने ।
टिकटकले नेपालमा पवित्र सोचका साथ नि:शुल्क निर्वाचन सफल बनाउने कामहरू गर्न लाग्नु आफैंमा महत्त्वपूर्ण कुरा भएको उनको भनाइ छ ।
‘विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग छ । अब नेपालको निर्वाचनलाई टिकटकमार्फत हामी यसरी सहयोग गर्छौं भनेर जुन प्रतिबद्धता जनाउनु भयो, यो धेरै महत्त्वपूर्ण छ,’ उनले भने ।
