मस्कको स्पेसएक्स र एक्सएआई मर्जरले बनायो १.२५ ट्रिलियन डलरको विश्वकै मूल्यवान् निजी कम्पनी
काठमाडौँ । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्स र उनको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एक्सएआईलाई आपसमा मर्जर भएका छन् ।
१.२५ ट्रिलियन डलर (करिब १८०५ खर्ब नेपाली रुपैयाँ) को भ्यालुएसनमा भएको यो सम्झौताले मस्कको साम्राज्यका विभिन्न अङ्गहरूलाई एउटै छातामुनि ल्याएको छ र यसलाई विश्वकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बनाएको छ ।
यो मर्जरमा स्पेसएक्सको मूल्य १ ट्रिलियन डलर (करिब १४४४ खर्ब) र एक्सएआईको मूल्य २५० अर्ब डलर (करिब ३६१ खर्ब रुपैयाँ) कायम गरिएको छ । यो व्यापारिक इतिहासकै सबैभन्दा ठुलो मर्जर एन्ड एक्विजिसन सम्झौता हो, जसले सन् २००० मा भोडाफोनले जर्मनीको मनेसमानलाई खरिद गर्दा कायम गरेको २०३ अर्ब डलरको कीर्तिमानलाई तोडेको छ ।
यो मर्जरपछि बनेको नयाँ संरचनामा रकेट प्रविधि (स्पेसएक्स), स्याटलाइट इन्टरनेट (स्टारलिङ्क), एआई च्याटबट (ग्रोक) र सामाजिक सञ्जाल (एक्स) समावेश भएका छन् ।
मस्कले यो मर्जरको प्रमुख कारण अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्नु रहेको बताएका छन् । उनका अनुसार पृथ्वीमा रहेका डेटा सेन्टरहरूका लागि ठुलो मात्रामा बिजुली र कुलिङ आवश्यक पर्छ, जुन वातावरणीय र सामाजिक हिसाबले चुनौतीपूर्ण हुँदै गएको छ ।
सूर्यको ऊर्जालाई प्रत्यक्ष प्रयोग गरेर अन्तरिक्षमा एआई कम्प्युट सञ्चालन गर्नु नै दीर्घकालीन रूपमा सही समाधान हुने मस्कको दाबी छ । उनले आगामी २ देखि ३ वर्षभित्र अन्तरिक्षमा एआई कम्प्युट उत्पादन गर्नु नै सबैभन्दा कम लागतको विकल्प हुने पूर्वानुमान् गरेका छन् ।
एक्सएआईले हाल एआईको प्रतिस्पर्धामा टिकिरहन प्रति महिना करिब १ अर्ब डलर खर्च गरिरहेको छ । अर्कोतर्फ, स्पेसएक्सले सन् २०२५ मा १५-१६ अर्ब डलरको आम्दानीमा करिब ८ अर्ब डलर नाफा कमाएको अनुमान छ । त्यसैले यो मर्जरले एक्सएआईलाई पूर्वाधार निर्माणका लागि आवश्यक पुँजीको सुनिश्चितता प्रदान गरेको छ ।
यो मर्जर स्पेसएक्सको आईपीओ जारी गर्ने तयारीको एक हिस्सा पनि हो ।कम्पनीले सन् २०२६ को मध्यतिर (मस्कको ५५ औँ जन्मदिनको आसपास) आईपीओ जारी गर्ने लक्ष्य राखेको छ, जसबाट करिब ५० अर्ब डलर सङ्कलन गर्ने र कम्पनीको कूल मूल्य १.५ ट्रिलियन डलर पुर्याउने योजना छ ।
यो आईपीओ इतिहासकै सबैभन्दा ठुलो सार्वजनिक निष्कासन हुन सक्ने विश्लेषण गरिएको छ ।
