शुक्रबार २३ माघ, २०८२

रुकुमपूर्वका ४४ मध्ये ३४ मतदान केन्द्र अति संवेदनशील,सुरक्षा अवस्थाबारे जानकारी लिन पुगे अर्थमन्त्री

रुकुमपूर्वका ४४ मध्ये ३४ मतदान केन्द्र अति संवेदनशील,सुरक्षा अवस्थाबारे जानकारी लिन पुगे अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले बाग्लुङ्ग र रुकुम पूर्व जिल्लाको निर्वाचन तयारी अनुगमन भ्रमण गरेका छन् ।

आगामी २०८२ फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा बिहिबार अर्थमन्त्री रामेश्‍वरप्रसाद खनालले बाग्लुङ तथा रूकुम पूर्ब जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् ।

जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी,  सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिए । सो अवसरमा बाग्लुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद आचार्यले निर्वाचन आचारसंहिता परिपालनाको स्तर राम्रो रहेको र २८ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए । 

अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए । सो क्रममा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत श्री सीता शर्मा अधिकारी र जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख श्री यज्ञ प्रसाद रिजालसँग बाग्लुङमा तथा बुर्तिबाङ स्थित निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत श्री भीमप्रसाद सुबेदीसँग बुर्तिबाङमा छलफल गरी हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा जानकारी लिए ।

त्यसैगरी रूकुम पूर्ब जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सीता परियारले निर्वाचन आचारसंहिता परिपालना सन्तोषजनक रहेको र कुल ४४ मध्ये ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए । अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए। सो क्रममा मुख्य निर्वाचन अधिकृत श्री शिवप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी श्री पुष्पराज शर्माले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराए । 

दुबै जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पछि अर्थमन्त्रीले मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था निर्माण भएको, निर्वाचनका लागि गर्नु पर्ने तयारीका सबै कामहरु सन्तोषजनक रुपमा अगाडि बढेको, स्थानीयस्तरमा राजनीतिक दल तथा उमेदवारहरु बीच स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको र स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सरकारले आफ्ना सबै संयन्त्रहरुलाई परिचालन गरेको विषय जानकारी गराए ।