टी-२० विश्वकप २०२६ : मुम्बईको वानखडेमा नेपाल र इंग्ल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट आइतबारदेखि सुरु हुँदैछ। भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको उद्घाटन खेलमा नेपालले विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालको लागि यो केवल प्रतियोगिता नभएर सपनाको यात्रा पनि हो। दोस्रोपटक टी-२० विश्वकप खेल्न उत्रिएको नेपाली टोलीले पहिलो खेलमा इंग्ल्यान्डसँग भिड्दै आफ्नो क्षमतालाई विश्वमञ्चमा देखाउने अवसर पाउनेछ ।
सबै खेल मुम्बईको वानखडे रंगशालामा हुनेछन् । नेपाली क्रिकेटप्रेमीहरूले यो क्षण लामो समयदेखि प्रतिक्षा गर्दै आएका छन् । नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको थियो र त्यसपछि दस वर्षसम्म अवसरको प्रतीक्षा गरेको थियो ।
तर २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग शानदार प्रदर्शन गर्दै आफ्नो क्षमता विश्वमञ्चमा प्रमाणित गरेको थियो । विशेषगरी दक्षिण अफ्रिकासँगको खेलमा एक रनको अन्तरले जित र हार नजिक पुगेको खेल नेपाली क्रिकेटप्रेमीका लागि स्मरणीय क्षण बनेको थियो ।
नेपालले लगातार कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा विश्वकप खेल्दै आएको छ । उनका साथै सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्ने गौरव हासिल गरेका छन् । यी खेलाडीहरूको मेहनत र लगावले नेपाल क्रिकेटलाई विश्व मानचित्रमा स्थापित गरिरहेको छ ।
यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । समूहमा नेपालसँगै दुईपटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् । स्कटल्यान्डले बंगलादेशको अस्वीकारपछि स्थान पाएको हो ।
