ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास - आम्दानी बढ्दा घट्यो नाफा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको आम्दानीमा सुधार देखिए पनि इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा भने गिरावट आएको छ।
खुद नाफामा गिरावट
चालू आवको पुस मसान्तसम्म कम्पनीले १० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा नाफा करिब १०.५१ प्रतिशतले घटेको हो।
खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ४८ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यो रकम गत वर्षको ३५ करोड ७ लाख रुपैयाँको तुलनामा करिब ३९ प्रतिशतले बढी हो।
सञ्चालन आम्दानी पनि बढ्यो
कम्पनीको कुल सञ्चालन आम्दानी पनि वृद्धि भई ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३९ करोड २१ लाख रुपैयाँ थियो। जसको तुलनामा करिब ३३ प्रतिशत वृद्धि भएको हो।
इम्पेयरमेन्ट चार्जले नाफामा दबाब
कम्पनीको इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेको छ। गत वर्ष पुस मसान्तसम्म २ करोड ७६ लाख रुपैयाँ छुट्याइएकोमा चालू वर्षमा यस्तो रकम १६ करोड ११ लाख रुपैयाँ पुगेको छ। जुन ४८३ प्रतिशतको वृद्धि हो। यसकै असरले सञ्चालन नाफा १६ करोड ९० लाख रुपैयाँबाट घटेर १५ करोड २२ लाख रुपैयाँमा झरेको छ।
प्रतिसेयर आम्दानी/ नेटवर्थ/मूल्य आम्दानी अनुपात / वितरणयोग्य मुनाफा
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.२४ रुपैयाँबाट घटेर ३२.६७ रुपैयाँमा कायम भएको छ। निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशतबाट बढेर ८.९६ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९४.६८ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३५.५९ गुणा र तरलता अनुपात ४.९२ प्रतिशत रहेको छ। वितरणयोग्य मुनाफा ६ करोड ३५ लाख रुपैयाँ रहेको छ।
पूँजी, निक्षेप र कर्जा स्थिति
कम्पनीको चुक्ता पूँजी ६४ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले ३ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २९ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। पुस मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ८६ करोड ८३ लाख रुपैयाँ नाघेको छ।
