आइतबार २५ माघ, २०८२

सुदृढ सङ्गठन र प्रहरीको मनोबल उच्च बनाउन रणनीतिक सम्मेलन आवश्यक : गृहमन्त्री

सुदृढ सङ्गठन र प्रहरीको मनोबल उच्च बनाउन रणनीतिक सम्मेलन आवश्यक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् ।

नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले आमनागरिकको अपेक्षाअनुसार प्रहरी सङ्गठन बनाउन यस्ता सम्मेलनले सहयोग पुग्ने बताए । गृहमन्त्री अर्यालले सम्मेलनबाट आएका राय सुझावलाई समेटेर अगाडि बढ्न गृह मन्त्रालयको साथ र सहयोग रहने बताए । प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्याको सम्मेलनमा गहन छलफल हुने उनले विश्वास लिए।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको प्रयोगसँगै पछिल्लो समय बढ्दै गएका विभिन्न खालका अपराधलाई नियन्त्रण गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए । “परम्परागत अपराधसँगै सङ्गठित अपराध, साइवर अपराध, अन्तरराष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको छ, यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ”, उनले भने । उनले समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको राय र सुझाव लिन सम्मेलनको आयोजना गरिएको बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनुपर्ने कदमबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।