संयुक्त राष्ट्र संघको महासभामा युक्रेनद्वारा प्रस्तुत रुस विरोधी प्रस्तावमा अमेरिका तटस्थ
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा युक्रेन सरकारले तयार पारेको रुस विरोधी प्रस्तावमा भएको मतदानमा अमेरिकाले भाग नलिई तटस्थ बसेको छ ।
उक्त मतदानमा कुल १०७ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् भने रुस, बेलारुस, इरान र उत्तर कोरियासहित १२ देशले विपक्षमा मतदान गरेका छन् ।
त्यस्तै, अमेरिकासहित आर्मेनिया, ब्राजिल, हंगेरी, कजाकिस्तान, सर्बिया र उज्वेकिस्तान गरी ५१ देशहरू मतदानमा तटस्थ बसेका छन् ।
रुसी उप–स्थायी प्रतिनिधि अन्ना येभस्टिग्नेभाले यदि कीभ शासन वास्तवमै दिगो शान्ति स्थापना गर्न इच्छुक भएको भए कुटनीति र आपसी स्वीकार्य समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।
उनले युक्रेनले रुस र युक्रेन दुवैका लागि स्थायी सुरक्षा ग्यारेन्टीहरू खोज्नुको सट्टा कुनै आधार बिना नै संयुक्त राष्ट्र महासभाको ११ औं विशेष आपतकालीन सत्रमार्फत राजनीतिक प्रेरित मतदान गराउन खोजेको आरोप लगाएकी छन् ।
सुरक्षा परिषद्को निर्णय जस्तो महासभाको प्रस्ताव अनिवार्य रूपमा बाध्यकारी नहुने कुरा पनि उनले स्पष्ट पारेकी छन् ।
येभस्टिग्नेभाका अनुसार एक वर्षअघि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रस्ताव २७७४ पारित गर्दै द्वन्द्वको शान्तिपूर्ण समाधानको आवश्यकतालाई पुन: पुष्टि गरेर युक्रेनी मुद्दामा आफ्नो अडान व्यक्त गरिसकेको दाबी गरेकी छन् ।
