आइतबार १७ फागुन, २०८२

युएईद्वारा इरानी आक्रमणको निन्दा, सैन्य बल उच्च सतर्कतामा

युएईद्वारा इरानी आक्रमणको निन्दा, सैन्य बल उच्च सतर्कतामा

दुबई । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो क्षेत्रमा इरानद्वारा गरिएका पछिल्ला आक्रमणहरूको निन्दा गरेको छ। बीबीसीका अनुसार युएईले यस कार्यलाई राष्ट्रिय सार्वभौमसत्ताको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको बताएको छ।

सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक धारणा सार्वजनिक गर्दै युएईले इरानको प्रतिरोधात्मक प्रहारलाई खतरनाक कदम र कायरतापूर्ण कार्य को संज्ञा दिएको छ। 

यस्ता गतिविधिले सर्वसाधारणको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने र क्षेत्रीय स्थिरतालाई धराशायी बनाउने युएईको ठहर छ।

युएईको रक्षा मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार, इरानले प्रहार गरेका १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोनहरूलाई युएईका रक्षा बलले सफलतापूर्वक बिचैमा निष्क्रिय पारेका छन्। यद्यपि, केही ड्रोनहरू भने देशको जमिन र जलक्षेत्रमा खसेका थिए। 

मन्त्रालयका अनुसार खसेका ती १४ वटा ड्रोनका कारण केही भौतिक क्षति भएको छ।

वर्तमान सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै युएईको रक्षा मन्त्रालयले आफ्ना सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखेको जनाएको छ।