आइतबार १७ फागुन, २०८२

इरानका सर्वोच्च नेता खामेनीको हत्या गर्न ३० वटा बमको प्रयोग गरेको खुलासा

इरानका सर्वोच्च नेता खामेनीको हत्या गर्न ३० वटा बमको प्रयोग गरेको खुलासा

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्न ३० वटा बमको प्रयोग गरेको खुलासा भएको छ । अमेरिका र इजरायलको संयुक्त कारबाहीमा ३० वटा बम प्रहार गरिएको वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको हो ।

रिपोर्टअनुसार संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त अपरेसनअन्तर्गत खामेनी बस्दै आएको सुरक्षायुक्त कम्पाउन्डलाई लक्षित गर्दै बम प्रहार गरिएको थियो । इजरायलको च्यानल १२ ले उक्त कम्प्लेक्समा ३० वटा बम खसालिएको जनाएका छ ।

इरानी समाचार एजेन्सी फार्स न्यूजका अनुसार शनिबार बिहान इजरायल र अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेकै समयमा खामेनी मारिएका हुन् । आक्रमण सुरु भएपछि खामेनी सार्वजनिक रूपमा देखिएका थिएनन् । प्रारम्भिक आक्रमणपछि सार्वजनिक गरिएको उपग्रह तस्बिरमा उनको उच्च सुरक्षा व्यवस्था गरिएको कम्पाउन्डमा ठूलो क्षति पुगेको देखिएको थियो ।

खामेनी बस्दै उक्त कम्पाउन्डमा बैठक बस्न लागेको थाहा पाएपछि आक्रमण भएको जनाइएको छ ।

सन् १९८९ देखि इरानको सर्वोच्च नेतृत्व सम्हाल्दै आएका खामेनीको मृत्युले मध्यपूर्व क्षेत्रको राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।