अमेरिकालाई सैन्य बेस प्रयोग गर्न नदिएपछि स्पेनसँग ट्रम्प आक्रोशित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सम्पूर्ण व्यापार बन्द गर्ने धम्की दिएका छन्।
स्पेनले इरानमा चलिरहेको सैन्य कारबाहीका लागि अमेरिकालाई आफ्नो सैन्य बेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेसँगै ट्रम्पले स्पेनलाई धम्की दिएका हुन् ।
ह्वाइट हाउसमा कुराकानीका क्रममा ट्रम्पले स्पेनको कडा आलोचना गर्दै स्पेनको रवैया ‘धेरै खराब’ रहेको बताए।
उनले भने, ‘हामी स्पेनसँगको सबै व्यापार बन्द गर्न सक्छौँ। हामी स्पेनसँग कुनै सरोकार राख्न चाहँदैनौँ।’
ट्रम्प प्रशासनको यो धम्की कार्यान्वयन हुने नहुने भने निश्चित छैन । ट्रम्पले युरोपेली संघको सदस्य राष्ट्र स्पेनसँग व्यापार रोक्न कस्ता कदमहरू चालिनेछन् भन्ने खुलाएका छैनन् ।
ट्रम्पको यो भनाइले दुई देशबीच पहिलेदेखि चलिरहेको तनावलाई थप बढाउने संकेत गरेको छ। स्पेनले यसअघि पनि नेटो सहयोगी राष्ट्रहरूले रक्षा खर्च बढाउनुपर्ने ट्रम्पको मागको विरोध गर्दै आएको छ ।
मध्यपूर्वमा बढ्दो तनावको असर विश्वव्यापी रूपमा देखिन थालेको छ । यसले तेलको मूल्यमा वृद्धिका साथै सेयर बजारमा पनि तीव्र गिरावट देखिएको छ ।
