आइतबार १७ चैत, २०८१

चार जना वरिष्ठ प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

चार जना वरिष्ठ प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, बैशाख ३०

हालै पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ  प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे । 

प्रहरी महानिरीक्षक कुँवरले नीति निर्माण र मानवश्रोत व्यवस्थापनतर्फ नेतृत्व वर्ग संवेदनशील भई काम गर्नुपर्ने उल्लेख गर्दै दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने समस्या र चुनौतीहरू निस्तेज पार्न परिस्थितिको आँकलन गरी स्पष्ट धारणासहित तहगत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए । राष्ट्र, संगठन र नागरिकलाई दिएको योगदानको कदर गर्दै पदोन्नति गरिएको चर्चा गर्दै उहाँले पदोन्नति पश्चावत अपराध अनुसन्धान तथा नियन्त्रण समेतमा प्राविधिक क्षेत्रबाट अझ रचनात्मक योगदान पुग्ने विश्वागस उनले व्यक्त गरे ।

समारोहमा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वाास र थप कर्तव्य वोधका साथ पूरा गर्ने बताए । पेशागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गरे ।  

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।