अभिभावकविहीन बालबालिकालाई कपडा वितरण
अर्घाखाँची, २३ जेठः
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री वितरण गरेपछि बालबालिका खुसी भएका छन् । अभिभावकविहीन बालबालिकालाई सन्धिखर्क नगरपालिकाले मङ्गलबार उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रमअन्तर्गत कपडा तथा झोला वितरण गरेको हो ।
नगर क्षेत्रका १२ वटै वडाका डेढ वर्षदेखि १६ वर्षसम्मका ८२ जना अभिभावकविहीन बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै कपडा र झोला प्रदान गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बालबालिकालाई नगरप्रमुख श्रेष्ठ र उपप्रमुख आचार्यले कपडा र झोलाका साथ जनही रु पाँच सय पनि प्रदान गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)