टेलिकमद्धारा बिभिन्न आर्कषक प्याकेज सार्वजनिक
काठमाडौं, जेठ ३२
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (२०८१ असार १) देखि लागु हुने छन् । अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत रु. ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत रु. ६३६ मा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।
यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ । कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ ।
इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत रु. ८० मा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने रु. २७० मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ । त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ ।