सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं, असार १८
माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । उनले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् पीडितहरुको सहयोग लगायत विविध जनचेतनामुलक कार्यक्रमहरुमा देखाएको अग्रसरताको मुक्तकण्ठले प्रशंसा गर्नहुुँदै वार्षिकोत्सवको अवसरमा पुरस्कृत हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक बधाई दिईन ।
माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले सामाजिक सेवाका कार्यहरु कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने बताउँदै यस्ता कार्यमा सबै मिलेर हातेमालो गरी अगाडी बढ्न जरुरी रहेको बताईन । उनले राज्यको दरिलो खम्बा बनेर विपद् प्रकोपमा परेकाहरुको आशा र भरोसाका रुपमा रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको साथ र सहयोगमा अग्रणी भूमिका निर्वाह गर्नुहुने जीवन संगिनीहरुको त्याग र समपर्णको समेत प्रशंसा गरिन ।
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो खुल्ला महिला हाफ म्याराथनका विजयी खेलाडी लगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे । सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नै संघको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग पु¥याउने सरकारी तथा गैरसकारी संघसंस्था एवं महानुभावहरुको अनुकरणीय योगदानप्रति हार्दिक आभार प्रकट गरिन ।
संघकी उपाध्यक्ष जैसीले हाल संघले आफ्नो सेवाका क्षेत्रहरु फराकिलो बनाउँदै सीमान्तकृत तथा पिछडिएका बर्ग र क्षेत्रलाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, विपद्, खेलकुद, तालीम, छात्रबृत्ती, नारी सशक्तीकरण, सरसफाईका कार्यहरु साथै सचेतनामूलक एवं परोपकारी कार्यहरुमा सदैव सक्रिय रहेको बताईन । कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमले स्वागत मन्तव्य राखेका थिईन भने संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक गतिविधि प्रस्तुत गरेकी थिईन ।
संघले आफ्नो स्थापनाकालदेखि सामाजिक सेवामा समर्पित भई स्वास्थ्य, शिक्षा, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सिपमूलक तालिम तथा जनचेतनामूलक कार्यक्रमहरु संचालन, विपद् प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर संचालन, रक्तदान कार्यक्रमको आयोजना लगायतका सामाजिक कार्यहरु गर्दै आईरहेको छ । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघले संचालन गरेका विभिन्न गतिविधिहरु समेटिएको बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, निजामती कर्मचारी श्रीमती संघकी उपाध्यक्ष श्रीमती राधा ज्ञावली लगायत तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, विभिन्न संघसंस्था महानुभावहरु तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।