ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने
वासिङ्टन, ११ साउन (रासस/एएफपी) :
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन गर्नुभएको छ । यसले ह्यारिसको उम्मेदवारीको सम्भावनालाई थप बल पुगेको छ । “यसै हप्ताको सुरुमा मिशेल र मैले साथी कमला ह्यारिसलाई फोन गरेका थियौँ । हामीले उहाँलाई भनेका थियाँै उहाँ संयुक्त राज्य अमेरिकाको एक शानदार राष्ट्रपति बन्नुहुनेछ र उहाँलाई हाम्रो पूर्ण समर्थन रहनेछ,” ओबामाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्नुभएको छ ।
“हाम्रो देशका लागि यो महत्वपूर्ण क्षणमा नोभेम्बरमा उहाँले जित्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौं । सम्पूर्ण अमेरिकी शुभचिन्तक र मतदाता हामीसँग सामेल हुनुहुनेछ भन्ने हामी पूर्ण आशा गर्छौँ।” प्रभावशाली पूर्वराष्ट्रपति डेमोक्र्याटिक पार्टीका अन्तिम ‘हेभी हिटर’हरू मध्ये एक हुनुहुन्थ्यो । ह्यारिसले आइतबार नै राष्ट्रपति जो बाइडेनको समर्थन प्राप्त गरिसक्नुभएको छ ।
ओबामाको समर्थनले ह्यारिसको चुनावी अभियानको बढ्दो गतिलाई अझ बढाउनेछ । अन्तिम समयमा उम्मेदवारी घोषणा गरेदेखि नै समर्थनको आधारहरू बढ्दै गएका छन् ।