नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

   काठमाडौं, असोज १०

भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

खेलमा पहिलो अग्रता भने भुटानले लियो । खेलको ४३ औँ  मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गरे । त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्णबहादुर आलेले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । यसैगरी खेलको ८५ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डङ्गोलले गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।

जीतसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

 नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता  भारतसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा पाकिस्तान र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल यही असोज १२ गते हुनेछ ।