स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल अब सातै प्रदेशहरूमा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल अब सातै प्रदेशहरूमा


काठमाडौ, असोज २०
 

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड अब सातै प्रदेशहरूमा पुगेको छ । बैंकले यही असोज १९ गते शनिवार कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेत र २०८१ असोज २० गते सुदूर पश्चिम प्रदेशको धनगढी, कैलालीमा एकै साथ दुईवटा नयाँ शाखा कार्यालयहरूको उद्घाटन गरे संगै बैंक सात वटै प्रदेशमा पुगेको हो । उक्त शाखा कार्यालयहरूको स्थापनासँगै, यस बैंकले नेपालका सातै प्रदेशहरूमा आफ्नो शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार “क” वर्गका बैंकले सबै प्रदेशहरूमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ ।

उपरोक्त दुवै शाखा कार्यालयहरूको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् महा प्रसाद अधिकारीज्यूले भर्चुअल रूपमा गर्नु भएको छ। यसका साथै २०८१ असोज १९ गते को वीरेन्द्रनगर सुर्खेत शाखाको उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री राजीव विक्रम शाहज्यूको समेत समुपस्थिति रहेको थियो । दुबै शाखाको उद्घाटन समारोहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिका सदस्य सिद्धान्त राज पाण्डेयज्यूले सञ्चालक समितिको प्रतिनिधित्व गर्नु भएको थियो । सो समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिर्वाण घोष दास्तिदार ज्यूले उक्त शाखाहरू स्थापनाका क्रममा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

देशभरिका ग्राहकहरूलाई वित्तीय सेवाहरूको पहुँच विस्तार गर्ने महत्त्वपूर्ण भूमिकामा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रतिबद्धता रहेको छ र नेपालमा एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा रहेको यस बैंकले अन्य विविध बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । उपरोक्त नयाँ शाखाहरूले स्थानीय व्यवसाय र ग्राहकहरूलाई गुणस्तरीय वित्तीय सेवाहरू प्रदान गर्ने र वित्तीय आवश्यकताहरूलाई परिपूर्ति गर्ने लक्ष्य राखेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले यी नयाँ शाखा कार्यालयहरूको स्थापनाबाट वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास बैंकले लिएको छ ।