दुई चित्तल मारेर लैजान लागेका एकजना पक्राउ
चितवन, असोज २२
चितवनस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् । निजको साथमा रहेको बोराभित्र दुईवटा मृत चित्तल राखेको भेटिएको थियो । पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो ।
पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ । उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन् । निजहरुले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय रत्ननगर, डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक टोली र पञ्चकन्या सामुदायिक वनको संयुक्त टोलीले निजलाई पक्राउ गरेको हो ।
उक्त कार्यमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको पौडेलले बताउनुभयो । वनभित्र गोलीको आवाज सुनिएपछि चित्तल मारेको आशङ्कामा उनीहरुको खोजी गरिएको थियो ।
---