अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं, असोज २३

दाङको घोराही उपमहानगरपालिका–१८ मसिनाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११ किलो १ सय ८० ग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका–४ बस्ने ३७ वर्षीय सुविन्द्र पुन, सोही गाउँपालिका–३ बस्ने ५१ वर्षीय चेतन बुढा र  दाङ घोराही उपमहानगरपालिका–१८ मसिना बस्ने रूकुम पूर्व घर भएकी ४२ वर्षीया बिनी पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।  

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित अर्जुनधारा नगरपालिका–४ बस्ने २० वर्षीय पुष्प तुम्वापोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलालीको गौरीगंगा नगरपालिका–७ लाहानुचोकस्थित दिपक धामीको खाली घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५१ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका–८ गुलनियाँ बस्ने २६ वर्षीय रूपेन्द्र कलेल र सोही नगरपालिका लिक्मा बस्ने २६ वर्षीय पदम बहादुर कलेल रहेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८५ मिलिग्राम सहित सोही नगरपालिका–६ कसरौल बस्ने २५ वर्षीय रमेश खातीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।