सशस्त्र प्रहरी र राजस्व टोलीमाथि रूपन्देहीमा आक्रमण
बुटवल, २३ कात्तिक । रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैधरुपमा भित्र्याइएको चिनी बरामद गरी फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले अवरोध गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरी फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध गरेको थियो । प्रहरीले भने तस्करहरुको समूहले चिनी लुट्ने उद्देश्यले ढुंगामुढा गरेको दाबी समेत गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल ल्याइएको चिनी भण्डार गरी राखेको गोप्य सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटाइएको थियो ।
उक्त टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी बरामद गरेको थियो ।
त्यसपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगर नेतृत्वको ७० जनाको थप फोर्स बोलाइएको थियो । सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको थियो ।