स्थानीय तह उपनिर्वाचन: राप्रपाका केन्द्रीय पदाधिकारी नै खटिए तयारीमा
काठमाडौं, २३ कात्तिक। स्थानीय तहको उपचुनावलाई प्राथमिकतामा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी गतिविधि तीव्र पारेको छ । अन्य पार्टीलाई पछि पार्दै राप्रपाले उम्मेदवार चयन गर्ने, चुनावी रणनीति र प्रचारको कार्यक्रम तयार पार्ने सहितका कार्य तीव्रताकासाथ अघि बढाएको छ ।
आउँदो १६ मंसिरमा स्थानीय तहका ४४ पदको उप–निर्वाचन मध्ये धेरैले चासोले राखेको कीर्तिपुर नगरपालिकामा राप्रपाले उम्मेदवार छनोट गरिसकेको छ ।
ध्रुव महर्जनलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय राप्रपाले तिहार अघि नै गरिसकेको छ । ‘अरु ठाउँमा पनि धमाधम उम्मेद्वार टुंगिने क्रम चलिरहेको छ । हामी धेरै ढिलो गर्दैनौ’, प्रवक्ता मोहनकुमार श्रेष्ठले भने ।
राप्रपाले उपचुनावको तयारीलाई व्यवस्थित गर्न शीर्ष तहकै नेताहरुलाई खटाउने निर्णय पनि गरिसकेको छ । राप्रपाले सम्भव भएसम्म त्यहीँ भूगोलकै नेताहरु पर्नेगरी चुनावी कमाण्डर समेत परिचालय गर्ने निर्णय लिइसकेको छ ।
चुनावी कमाण्डर को जिम्मा दिएर राप्रपाले पदाधिकारी तहकै नेतालाई वडाध्यक्ष जिताएर आउने जिम्मेवारी तोकिदिएको छ । तोकिएको जिम्मेवारी बमोजिम मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदको उपचुनावमा महामन्त्री प्रल्हाद साह खटिएका छन् । साहले ग्रामथान गाउँपालिका अध्यक्ष सहित सुनसरीको लालीगुराँस नगरपालिका–८ का वडाध्यक्ष जिताउने जिम्मेवारी पनि पाएका छन् ।
पार्टी प्रवक्ता भक्ति सिटौलालाई झापाकै कन्काइ नगरपालिका–६ को वडाध्यक्ष जिताउने जिम्मेवारी दिइएको छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदको उपचुनावमा सहकोषाध्यक्ष शोभित उप्रेतीलाई परिचालन गरिएको छ ।
काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयर जिताउन चुनावी कमाण्डर पार्टी प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही तोकिएका छन् । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद जिताउने जिम्मेवारी महामन्त्री कुन्ती शाही खटिएकी छन् ।
जाजरकोट नलगाड नगरपालिकाको उपमेयरमा हुने उपचुनावमा सहायक महामन्त्री शौरेन्द्रबहादुर शाहलाई जिम्मेवारी दिइएको छ । उपचुनाव हुने महत्वपूर्ण पालिका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका हो । यो पालिकामा उपाध्यक्ष पदका निम्ति हुने उपचुनावको तयारीमा महामन्त्री धवल शमशेर जबरालाई जिम्मेवारी तोकिएको छ ।
पार्टी महामन्त्री राजेन्द्र गुरुङलाई वडाध्यक्ष जिताउने अभिभारा दिइएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष जिताउने कमाण्डर महामन्त्री गुरुङलाई दिइएको हो । उपचुनाव हुने अरु वडाहरुमा पनि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु परिचालन गरिएका छन् ।
‘पदाधिकारीहरु नै खटिनुको अर्थ हामीले यो उपचुनावलाई प्राथमिकताका साथ हेरेको भन्ने हो’, प्रवक्ता श्रेष्ठले भने ।