हवाई भाडा बढेपछि पर्यटनमन्त्री पाण्डेले गरे परराष्ट्र र श्रममन्त्रीसँग छलफल

हवाई भाडा बढेपछि पर्यटनमन्त्री पाण्डेले गरे परराष्ट्र र श्रममन्त्रीसँग छलफल

काठमाडौं, २३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गरिने भएपछि हवाई भाडा पनि बढेको छ ।

हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको जनगुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले छलफल गरेका छन् ।

हिजो (शुक्रबार) मन्त्री पाण्डेले परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

उक्त अवसरमा वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल गरिएको छ ।

छलफलमा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बाहनामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको हुन सक्ने भन्दै वैदेशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूले सो सन्दर्भमा सरकारले निर्मम भएर निर्णय गर्नुपर्ने बताएका छन् ।