उपनिर्वाचन : माओवादी केन्द्रद्वारा स्थानीय तहमा सिफारिस उम्मेदवार अनुमोदन

उपनिर्वाचन : माओवादी केन्द्रद्वारा स्थानीय तहमा सिफारिस उम्मेदवार अनुमोदन

काठमाडौँ, २६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । 

प्रचण्ड निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन पार्टी पङ्क्ति र जनसमुदायलाई अनुरोध गरेको छ ।

आगामी मङ्सिर १६ गते स्थानीय तहका विभिन्न ४४ स्थानमा उपनिर्वाचन हुन लागेको हो।  पार्टीका तर्फबाट तय भएका उम्मेदवारलाई विजयी गराउने योजनासमेत तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

त्यस्तै, बैठकले आगामी मङ्सिर मसान्तसम्ममा पालिका सम्मेलन सम्पन्न गर्ने र खबरदारीसभा गर्ने निर्णय बैठकले गरेको छ । जनपरिचालनसहित गरिने खबरदारीसभाले सुशासनको पक्षमा दबाव दिने प्रवक्ता सापकोटाको भनाइ थियो । यसैगरी, आगामी पुस २ गतेका लागि पार्टीको केन्द्रीय समितिको बैठक बस्ने गरी आवश्यक तयारी गरिएको उनले बताए । 

अग्रगमन र परिवर्तनको पक्षमा संविधान संशोधन हुनुपर्नेमा प्रवक्ता सापकोटाले जोड दिए । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा पार्टीले जोड दिएको स्पष्ट पारे ।

जनताबाट निर्वाचित भएर आउने सांसदहरु नीति निर्माणमा केन्द्रीत हुने र विषय विज्ञलाई मन्त्री बनाए मात्रै जनताले अपेक्षा गरे अनुसारको विकास र आर्थिक समृद्धि हुने माओवादी केन्द्रको ठहर छ ।