यूएईमाथि ऐतिहासिक जितसँगै नेपाल पहिलो पटक यु–१९ महिला विश्‍वकपमा छनोट

यूएईमाथि ऐतिहासिक जितसँगै नेपाल पहिलो पटक यु–१९ महिला विश्‍वकपमा छनोट

काठमाडौं, २८ कात्तिक । नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ ।

आज (बुधवार)  भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पाएको हो । नेपालका लागि ओपनर सना प्रविनले अविजित हुँदै सर्वाधिक रन ३५ बनाइन् ।

त्यस्तै, कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन जोडेको थियो। यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् ।

त्यस्तै, रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २/२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट झारिन् ।