शंकर पोखरेलको प्रश्न– छिमेकी राष्ट्रबाट ऋण लिनु गलत हो ?
काठमाडौं, ७ मंसिर । सत्ताको नेतृत्वमा रहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताएका छन् ।
चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस–एमालेबीच छलफल जारी रहेकै बेला एमाले महासचिव पोखरेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।
आज (शुक्रबार) महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखेका छन्– ‘नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो?’ भन्दै प्रश्न गरेका छन् ।
१७ देखि २० मंसिरसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना अनुदानमा मात्रै लिने कि ऋणमा समेत लिने गरी कार्यान्वयन सम्झौता गर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एकमत हुन सकेको छैन ।
कांग्रेसले अनुदानमा मात्रै परियोजना लिन सकिने बताउँदै आएको छ भने एमालेले सहुलितपूर्ण ऋण लिने गरी सम्झौता गर्नुपर्ने भनिरहेको छ । दुई दल आ–आफ्नो अडानका बीचमा पनि अघि बढ्ने बाटो खोजिरहेका छन् ।
यसै सन्दर्भमा टिप्पणी गर्दै एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालबाट छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताएका हुन् ।
एमाले महासचिव पोखरेलले चीनसँगको व्यापार र पारवाहन सम्झौताको पनि बचाउ गरेका छन् । ‘नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?’ उनले लेखेका छन् ।
एमालेले आज (शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शन (जागरण सभा) गर्दैछ । सभा अगाडि यसलाई समेत जोडेर महासचिव पोखरेलले सामाजिक सञ्जालमा विभिन्न ९ वटा प्रश्न पोष्ट पोष्ट्याएका हुन् ।
१.नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?
२. के नेकपा(एमाले) ले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
३. नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघिसार्नु गलत हो ?
४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?
५. नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चिनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?
६. के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप बन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?
७. के नेपालले भैरहवा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअररुटको माग गर्नु गलत हो ?
८. के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारूपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?
विभिन्न ९ वटा प्रश्न गर्दै महासचिव पोखरेलले प्रश्न जायज लागे साथ दिन अनुरोध समेत गरेका छन् ।
‘यदी यसो गर्नु गलत लाग्छ भने नेकपा (एमाले) को विरोध जायज हुन सक्छ । होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ’ उनले लेखका छन् ।
‘काम गर्नेलाई हौसला देऊ । कमी कमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ । अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरूप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गरौं ।’ महासचिव पोखरेल लेखेका छन् ।