घट्यो डिजेल खपत, बढ्यो पेट्रोल आयात
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चौमासिकको तथ्यांकले पेट्रोलको खपतमा वृद्धि भएको देखाएको छ । यद्यपी, विद्युतीय सवारीसाधन आयातको संख्या बढ्दै जाँदा इन्धन खपत कम हुने अपेक्षा लिइएको थियो ।
डिजेलको आयात भने घटेको छ । चालु आव २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा ३ लाख २४ हजार ४३१ किलोलिटर डिजेल आयात भएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आवको पहिलो चौमासिकमा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात गरिएको थियो । तथ्यांकजनाइएअनुसार, यस वर्ष डिजेल आयातमा २९ अर्ब ४ करोड २० लाख रुपैयाँ बाहिरिएको छ । गत आवमा डिजेलको आयातमा ४० अर्ब ३१ करोड रुपैयाँ देश बाहिर गएको थियो ।
अघिल्लो वर्ष पेट्रोलको आयात घटे पनि डिजेल आयात भने घटेको थिएन । तर, यस वर्ष भने सार्वजनिक सवारीमा समेत विद्युतीय सवारीसाधनको आयात बढ्दै जाँदा डिजेल आयात सीमित हुन थालेको देखिन्छ ।
पेट्रोलको खपत समेत गत आवको पहिलो चार महिनाको तुलनामा यस वर्ष बढेको छ । यस वर्ष कात्तिकसम्म २ लाख ४७ हजार ४८१ किलोलिटर पेट्रोल आयात भएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आवको पहिलो चार महिनामा २ लाख २३ हजार ८१० किलोटिर पेट्रोल आयात भएको थियो । यस वर्ष पेट्रोल आयातमा २१ अर्ब ५६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष २२ अर्ब ८७ करोड रुपैयाँ मात्र विदेशिएको छ ।