ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

ललितपुर, ९ मङ्सिर । जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ । सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत भवन दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो । 

पुनःनिर्माण सुरु भएको ऐतिहासिक अदालतको भवन विसं १९९० को भूकम्प अगाडि तीन तलाको थियो । पुरानै स्वरूपमा भवन निर्माण गर्न नक्शा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । 

भारतीय दूतावासको सहयोगमा काम सुरु भएको ऐतिहासिक अदालत भवनको पुनःनिर्माणको पचली भैरव निर्माण व्यवसायी कम्पनीले १८ महिनामा सम्पन्न गर्नेगरी जिम्मा लिएको कम्पनीका इञ्जिनियर किसन कुटाभारले जानकारी दिए ।

१८ करोडमा पुरानै संरचनामा निर्माण हुन लागेको अदालतमा पाटन दरबार सङ्ग्रहालयको कार्यालय रहनसक्ने दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेलेजानकारी गराए । उनले भने, “लामो समयको प्रतीक्षापछि जीर्ण अवस्थामा रहेको अदालत भवन पुनः निर्माण सुरु भएको छ । पुरानै शैलीमा निर्माण भएपछि पाटन दरबार क्षेत्रको स्वरूप अझ आकर्षक देखिने छ ।” 

जीर्ण भवनभित्र रहेका सामान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको ललितपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी पाठकले जानकारी दिइन् ।

उनका अनुसार ऐतिहासिक अदालत भवनलगायत पाटनदरबार क्षेत्रका अन्य ऐतिहासिक सम्पदा केही पुनःनिर्माण हुँदैछन् भने केही पुनःनिर्माणको प्रक्रियामा छन् ।